धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत जुनियर रेजिडेन्ट (जेआर) हरुको मागका विषयमा प्रतिष्ठान प्रशासनसँग २ चरणमा वार्ता भएपनि आन्दोलन यथावत रहने भएको छ ।

उनीहरुले सोमबारदेखि आकस्मिक कक्ष बाहेक कोभिड सहित सम्पुर्ण काममा सहभागीता नजनाउने भन्दै आन्दोलनमा उत्रिएका जेआरहरुसँग सोमबार पदाधिकारीहरुले २ पटक वार्ता गर्दा पनि समस्या समाधान नभएको हो ।

वार्तामा जेआरहरुका केही माग पुरा भएपनि ठोस सहमति हुन बाँकी रहेको भन्दै जुनियर रेजिडेन्ट वेल्फर सोसाइटीले आन्दोलन यथावतै रहेको जनाएको छ । सोमबार साँझ विज्ञप्ती जारी गर्दै सोसाईटीले विगतका सहमतिको कार्यान्वयन पक्ष फितलो देखिएकोले वस्तुगत कार्यान्वयन र परिणाम नआएसम्म आन्दोलन जारी नै रहने उल्लेख गरेको छ ।

भदौ ५ गतेदेखि जुनियर रेजिडेन्टहरु खाना गुणस्तरहिन भएको, व्यवस्थापन राम्रो नभएको भन्दै आन्दोलनमा उत्रिएका थिए । त्यसपछि प्रतिष्ठानले अस्पताल निर्देशक डा.गौरीशंकर साहको नेतृत्वमा तीन दिनभित्र समस्या समाधान गर्ने भन्दै समिति पनि गठन गरेको थियो । तर समस्या समाधान नभएपछि जेनियर रेजिडेन्टहरु पुनः आन्दोलनमा छन् ।