विराटनगर । विराटनगर महानगरपालिका भित्रका स्थायी बसोबास गर्ने विरामीलाई रगत आवश्यक परेमा निःशुल्क रूपमा क्षेत्रिय रक्तसंचार केन्द्र विराटनगरले उपलब्ध गराउन थालेको छ ।

नेपाल रडेक्रस सोसाइटी मोरङ शाखा अन्तर्गत क्षेत्रिय रक्तसंचार केन्दसँग विराटनगर महानगरपालिकाले आवश्यक पर्ने रकम दिने सम्झौता गरेपछि विरामीलाई निःशुल्क रगत उपलब्ध गराउन थालेको हो ।

१ भदौमा महानगर र रेडक्रस बिच सम्झौता भएपछि एक साता अघिदेखि विरामीलाई निःशुल्क रगत दिन थालिएको हो । बिरामीलाई रगत परीक्षण र अन्य सेवा उपलब्ध गराएबापत विगतमा रेडक्रसले ८ सय १० प्रतिपिन्ट शुल्क लिदै आएको थियो ।
महानगरपालिकाले रक्तसञ्चार केन्द्र सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेपछि निःशुल्क रुपमा रगत उपलब्ध गराउन थालेको हो । विराटनगर महानगरपालिकाले नगरवासीको स्वास्थ्य समस्या भई अस्पताल भर्नापछि रगत आवश्यक भएको अवस्थामा निःशुल्क रुपमा रगत उपलब्ध गराउने नगरसभाबाट १ भदौमा निर्णय गरेको थियो । नगर कार्यपालिकाको निर्णयपछि स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउन यो वर्ष पाँच लाख रूपैयाँ बजेट विनियोजन गरेको छ ।

आवश्यकता अनुसार बजेट थप गरेर लैजाने विराटनगर महानरपालिकाका जनस्वास्थ्य निरीक्षक हैदर अलिले जानकारी दिए । नेपाल रेडकक्रस सोसाईटी मोरङसँग समन्वय गरेर ८ सय १० मा रुपैयाँ पर्ने रगतको मूल्य अब विराटनगर महानगरले एकमुष्ट रुपमा रक्त सञ्चारलाई भुक्तानी गर्ने भएको अलिले बताए । ‘निःशुल्क रुपमा रगत पाउनका लागि अस्पताल भर्ना भएका विरामीलाई चिकित्सकको रगत आवश्यक भएको सिफारिस दिएको हुनुपर्नेछ,’ स्वास्थ्य निरीक्षक अलीले भने, ‘सिफारिस लिएर रक्तसंचार केन्द्रमा गएपछि रगत उपलब्ध हुनेछ ।’ निःशुल्क रगतको लागि विरामी महानगर भित्रको स्थायी बसोबासी हुनुपर्ने र परिचयपत्र अनिवार्य आवश्यक पर्ने अलिको भनाई छ ।

रेडक्रस सोसाईटीसँग १ बर्षसम्मको लागी सम्झौता गरेको महानगरले जनाएको छ । रक्तसंचार सेवा केन्द्रबाट एक बर्षसम्म खपत भएको रगतको आधारमा महानगरले रेडक्रस सोसाईटीलाई भुत्तानी गर्नेछ ।

कोशीमा पनि निःशुल्क रगत
विराटनगरस्थित कोशी अस्पतालको प्रसूती गराउन आउने आमाहरूलाई रगत आवश्यक परेमा अस्पतालले निःशुल्क उपलब्ध गराउने गरेको छ ।

कोशी अस्पतालको स्त्री तथा प्रसुती विभाग अन्तर्गत प्रसुती (सुत्केरी) कक्षमा भर्ना भएका भएका गर्भवती महिलाका लागि निःशुल्क रगत उपलब्ध गराउने कोशी अस्पताललका सुपरीटेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिए । राज्यले संचालन गरेको ‘सुरक्षित प्रसुती सेवा’ अन्तर्गत रक्तसंचार सेवा निःशुल्क गरिएको मेसु दासले बताए । प्रसूती गराउन आउने आमालाई रगत आवश्यक परेमा निःशुल्क उपलब्ध गराउन रेडक्रस सोसाइटीसँग सम्झौता गरि सेवा सुचारु भइरहेको उनले बताए ।

अस्पतालको प्रसुती कक्षमा भर्ना भएका गर्भवती महिलाहरु जुनसुकै स्थानको भएपनि अस्पतालले रगत उपलब्ध गराउने छ । अस्पतालमा भर्नापछि रगत आवश्यक भएको चिकित्सकको सिफारिस अनिवार्य हुनुपर्ने छ । प्रसूतीमा भर्ना भएका बाहेक अन्य विरामीको हकमा भने निःशुल्क नहुने अस्पतालले जनाएको छ । कोशीको गाइनो वार्डमा दैनिक १५ देखि २० जनाले प्रसूती गराउने गरेको अस्पतालले जनाएको छ । जसमध्ये शल्यक्रिया हुनेहरूमा रगत आवश्यक पर्ने गरेको छ ।

रेडक्रस सोसाइटीका सभापति सुवोध सिंहले १७ स्थानिय तह रहेको मोरङमा पहिलो पटक महानगरपालिकाले संस्थागत रुपमा बिरामीलाई रगत उपलब्ध गराउन सम्झौता गरेको बताए । सभापति सिंहले अन्य स्थानीय तहसँग समेत समन्वय र सहकार्य गरेर अगाडी बढ्ने योजना राखिएको बताए । ‘स्थानीय तहसँग सम्झौता भएपछि रक्तदाताले उपलब्ध गराएको रगत निःशुल्क रुपमा दिन थालेका छौँ, उनले भने, ‘विपन्न र आर्थिक अभाव भएका बिरामीले सहजरुपमा रगत पाउने भएका छन् ।’ क्षेत्रिय रक्तसंचार केन्द्र विराटनगरमा ५० हजार पिन्टसम्म रगत राख्न सक्ने क्षमता भएपनि दैनिक ६० देखि १ सय पिन्ट रगत संकलन हुने गरेको छ । सोही संख्यामा रगत खपत हुने गरेको सभापति सिंहले जानकारी दिए ।