धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका जुनियर रेजिडेन्टहरुले आफ्ना मागहरु अझै पुरा नभएको भन्दै २४ घन्टाभित्र माग पुरा नभए ईमर्जेन्सी बाहेक कोभिड १९ र सम्पूर्ण सेवामा सहभागीता नजनाउने चेतावनी दिएका छन् ।

भदौ ५ गते गुणस्तरहिन खाना दिइएको, ड्युटी व्यवस्थित रुपमा नमिलाईएको, क्वारेन्टाइन पनि अव्यवस्थित भएको भन्दै सुधारका लागि मागपत्र बुझाएको जुनियर रेजिडेन्ट वेलफेयर सोसाईटीले ति माग अझै पुरा नभएको भन्दै आइतबार प्रतिष्ठानका उपकुलपतिलाई जानकारी पत्र बुझाउँदै २९ गतेबाट काम नगर्ने चेतावनी दिएका हुन् ।
सोसाइटीले भदौ ५ गते मागपत्र बुझाएपछि प्रतिष्ठानले ३ दिनभित्र समस्या समाधान हुनेगरी प्रतिवेदन तयार गर्ने निर्देशन सहित समिति गठन गरेको थियो । तर मागहरु ज्युँका त्युँ रहेकाले आन्दोलनमा उत्रिनु परेको सोसाईटीका सचिव गणेश फुलाराले बताए ।
उनले भोलिबाट काममा जाने कि नजाने भन्ने विषयमा अहिले बेलुका छलफल भईरहेको बताए । उनले ब्लाष्टसँग भने, ‘तीन दिनमा समस्या समाधान गर्ने भनेको २० दिनमा पनि भएन । त्यसपछि हामी बाध्य भएर यो कदम चाल्न थालेका हौं । आजको छलफलले जे निर्णय गर्छ त्यहि गर्छौं भोली ।’