धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार ७० वर्षीय कोरोना संक्रमित वृद्धको आइतबार दिउँसो मृत्यु भएको छ ।
उनलाइ विराटनगरबाट भदौ १७ गते रिफर गरिएकाे थियाे । विराटनगर महानगरपालिका १२ ठेगाना भएका ती वृद्ध ज्वरो, खोकीसंगै स्वासप्रस्वासमा कठिनाई भएपछि विराटनगरको म्याक्स हस्पिटलमा भर्ना भएका थिए । उनको गत भदौ १६ गते नै प्रादेशिक प्रयोगशालामा पिसिआर जांच गर्दा कोरोना पोजेटिभ पुस्टी भएको थियो ।
विराटनगरको उक्त हास्पिटलले भदौ १७ गते थप उपचारकालागि प्रतिष्ठानमा रिफर गरेका थियो । लामो समयदेखि उच्च रक्तचापको दीर्घरोगी समेत रहेका ती पुरुषको प्रतिष्ठानस्थित कोभिड अस्पतालमा उपचार भइरहेको थियो ।
प्रतिष्ठानका प्रवक्ता प्राडा निदेश सापकोटाकाअनुसार संक्रमित पुरुषलाई प्रतिष्ठानको कोभिड अस्पतालको आइसियुमा राखेर उपचार गर्दागर्दैै मृत्यु भएको हो । प्रतिष्ठानमा कोरोना संक्रमितको उपचार गर्दा गर्दै मृत्यु हुनेको संख्या यो सहित २५ पुगेको छ ।