बिर्तामोड/ झापाको बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले कोरोनालाई नियोजित रूपमा भयावह बनाइएको बताएका छन् । शनिबार अस्पताल परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रसार्इंले मिडियाले प्रचार–प्रसार गरेर अवस्था भयावह बनाएको दाबी गरे ।

‘मिडियाको हल्लाले नै स्थिति भयावह भयो’ उनले भने, ‘मैले त स्वास्थ्य मन्त्रीलाई फोन गरेर भनिसकेँ, डा. जागेश्वर गौतमको कोरोना अपडेट बन्द गराउनुहोस् भनेर । नेपालमा १०–१२ हजार मिडिया होलान्, सबैको अपडेट सुन्दा कोरोना भयावह रोग रहेछ भन्ने लागेको हो, रेविज, झाडापखालालगायतका रोगबाट त्योभन्दा बढी मानिसको मृत्यु भए पनि किन ती घटना लुकाइन्छ ?’ उनले कोरोनालाई अनावश्यक रूपमा हाउगुजी बनाएको टिप्पणी गरे । कोरोना रोगका कारण मानिसमा अनावश्यक त्रास उत्पन्न भएको पनि उनले बताए ।

कोरोना सङ्क्रमणमुक्त भएर गएका मानिसलाई पनि गाउँमा पस्न नदिएर भयावह अवस्था सिर्जना गरेको भन्दै कार्यकारी निर्देशक प्रसाईंले कोरोनालाई त्यस्तो भयावह नबनाउन आग्रह गरे । ‘मेची अञ्चलको स्वास्थ्यकोे जिम्मा बी एण्ड सीलाई र क्यान्सरको जिम्मा पूर्वाञ्चल क्यान्सर अस्पताललाई दिँदा हुन्छ, मैले ५–६ महिनाअघि नै पत्रकार सम्मेलन गरेर भनेको थिएँ’ प्रसाईंले भने, ‘क्यान्सर रोगको भने नेपालको मात्रै होइन, दक्षिण–पूर्वी एशियाकै जिम्मा लिने गरी दुई वटा संस्था मिलेर अघि बढेका छन् ।’

अत्याधुनिक प्रविधिका उपकरण जडित अस्पतालमा सबै रोगको उपचार हुने भन्दै कोरोना सङ्क्रमितको समेत छुट्टै आइसोलेसन वार्डमा राखेर उपचार गर्न सुरु गरिएको प्रसाईंको भनाइ छ । ‘हामीले कोरोना परीक्षणका लागि चासो देखायौं र कोरोना परीक्षण गर्दा बी एण्ड सीमा कोरोना देखियो’ प्रसाईंले भने, ‘अन्य अस्पतालले पनि बिरामीको परीक्षण गर्ने हो भने सबै अस्पतालमा यसको सङ्क्रमण देखिन्छ । कोरोना नेपालीका लागि सामान्यजस्तै भएको छ योभन्दा भयावह अन्य रोगका कारण मृत्यु हुने विभिन्न तथ्याङ्कले नै देखाउँछन् ।’

प्रसाईंले एउटै छानामुनी १ सय १० जना डाक्टरको टिम आफूसँग रहेको दाबी गर्दै नेपालमा अन्य कुनै अस्पतालमा पनि यस्तो जनशक्ति नरहेको बताए । बी एण्ड सी अस्पतालमा कार्यरत केही चिकित्सक, नर्स र कर्मचारी कोरोना सङ्क्रमणका कारण आइसोलेसनमा रहेको बताउँदै उनीहरूको अवस्था सामान्य रहेको अस्पतालका डा. राजु श्रेष्ठले जानकारी दिए । ‘कोरोना सङ्क्रमण परीक्षण गर्दा डा. सहित केही कर्मचारीमा कोरोना सङ्क्रमण देखियो, उनीहरूमा कुनै लक्षण छैन’–श्रेष्ठले भने ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. निराजन पराजुलीले अस्पतालमा रहेको आइसोलेसनमा बस्ने कुनै पनि सङ्क्रमितमा लक्षण नरहेको बताए । उनले सङ्क्रमण पुष्टि भए पनि उनीहरूमा कुनै लक्षण नदेखिएकाले कुनै समस्या नभएको बताए । बी एण्ड सी अस्पताल कोरोनाको इपिसेण्टर बन्दै गएको भनेर केही मिडियाले प्रचार गरेको भन्दै अनावश्यक भ्रम नफैलाउन पराजुलीले आग्रह गरेका थिए । बी एण्ड सी विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकल पूरा गरेको अस्पताल भएको हुनाले सबैखालका सुरक्षाको व्यवस्था रहेको उनको भनाइ थियो ।