धरान/ मानव स्वास्थ्यलाई प्रतिकूल असर पर्नेखालको रसायनबाट निर्मित सेनिटाइजर बिक्री वितरण भइरहेको पाइएको छ ।
औषधि व्यवस्था विभागका अनुसार काठमाडौं र भक्तपुरका पाँचवटा कम्पनीले मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्नेखालको रसायनबाट निर्मित सेनिटाइजर बिक्री वितरण गरिरहेकाले प्रयोग नगर्न आग्रह गरेको छ । एक सूचना जारी गर्दै विभागले पाँचवटा कम्पनीको नामसमेत सार्वजनिक गरेको छ । विभागका अनुसार भक्तपुरको नेपाल कायाकल्प उद्योग, काठमाडौंका हाइजिन सोप एण्ड केमिकल, आधार केमिकल्स एण्ड फुड इण्डष्ट्री, सर्च केमकम हर्बल प्रोडक्ट र सूर्यमुखी हर्बल प्रोडक्ट्स रहेका छन् ।
यी कम्पनीबाट उत्पादित कुनै पनि प्रकारका सेनिटाइजर प्रयोग नगर्नका लागि नागरिकहरूलाई अनुरोध गरिएको छ । कम्पनीले हाल इन्सटेण्ट ह्याण्ड सेनिटाइजर, इन्सटेण्ट ह्याण्ड सेनिटाइजर ओरिजिनल, एड्भान्स ह्याण्ड सेनिटाइजर, इन्सटेण्ट ह्याण्ड सेनिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी ह्याण्ड सेनिटाइजर प्रयोग नगर्न आग्रह गरिएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिए ।
राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकेको मापदण्ड विपरीतका रसायन प्रयोग गरेको भेटिएको विभागले जनाएको छ । हाल हानिकारक रसायन प्रयोग भएको पाइएपछि ती कम्पनीलाई उत्पादनमा रोक लगाइएको विभागले जनाएको छ । यी कम्पनीले उत्पादन गरेका सेनिटाइजरमा मिथानोल अल्कोहलको मात्रा राखिएको पाइएको छ । प्रयोगशालामा जाँच गर्दा ८३ प्रतिशतसम्म मिथानोल अल्कोहल भेटिएको छ । जबकि सेनिटाइजरमा इथानोल अल्कोहल मात्रै राख्न पाउने व्यवस्था रहेको महानिर्देशक ढकालले जानकारी दिए ।
मिथानोल अल्कोहल कडा गन्धको रङ्गहीन तरल पदार्थ हो । यसले आँखा, छाला, मिर्गौला, हातखुट्टा, स्नायु प्रणालीमा असर पार्ने जानकारहरू बताउँछन् । त्यस्तै अङ्गभङ्ग हुने जोखिम पनि उत्तिकै हुन्छ भने पिएको खण्डमा मृत्यु पनि हुन सक्ने बताइन्छ । स्नायु प्रणालीमा तत्काल असर गरेको देखिन थालेकाले पनि परीक्षण गरिएको थियो ।