विजयपुर/ धरानमा कोरोना सङ्क्रमित भएर होम आइसोलेसनमा बस्ने बिरामीलाई ‘एक बिरामी, एक स्वास्थ्यकर्मी’ को अवधारणा ल्याइएको छ ।
धरान उपमहानगरपालिकाको सहकार्यका धरान मेडिकल समूहले ‘एक बिरामी, एक स्वास्थ्यकर्मी’ को अवधारणा ल्याएको हो । सङ्क्रमितलाई चिकित्सा सुविधा र घरको आइसोलेसनमा बसेको अनुभूति कम गराउने मेडिकल समूहले यो योजनालाई अगाडि बढाएको मङ्गलबार पत्रकार सम्मेलन गरेर जनाएको छ । मेडिकल समूहका सदस्य सदस्य सशाङ्क ताम्राकारले सकेसम्म बिरामी भएको स्थानमा पुगेर दिइनेछ । ‘सम्भव नभएको स्थानमा फोन तथा भिडियो कलबाट सेवा दिइनेछ’ –उनले भने ।
समूहमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र हात्तीसार क्याम्पसका विद्यार्थीको संलग्नता रहेको छ । मेडिकल समूहको संयोजक बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर प्रज्वल प्याकुरेल रहेका छन् । प्याकुरेलले कार्यक्रममा बोल्दै भने, ‘यो पहिलो चरणको अभ्यास हो । यसको प्रभावकारिता राम्रो देखियो भने सुनसरी जिल्लाभरि विस्तार गरिनेछ ।’ पत्रकार सम्मेलनमा अहिले कोरोनाको प्रतिरोधात्मक क्षमता बढाउने औषधिको प्रचार–प्रसार भइरहे पनि त्यस्तो कुनै औषधि नभएको समूहका सदस्य अनुस कार्कीले बताए ।
पत्रकार सम्मेलनमा धरानको कोरोनाको विस्तृत जानकारी पनि दिइएको थियो । धरानमा अहिलेसम्म १ सय ७३ जना सङ्क्रमित रहेका छन् । धरान १ देखि १९ नम्बर वडामा कोरोना सङ्क्रमित देखिए पनि २० नम्बर वडा कोरोनामुक्त वडा रहेको छ । वडा नं. १३, १५, १६, १७ र १८ मा आइसोलेसन तथा क्वारेण्टिन भएकाले धेरै देखिएको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिएका छन् ।
जसमध्ये ० देखि २० वर्ष उमेर समूहका १९ जना, २१ देखि ४० वर्ष उमेर १ सय ८ जना, ४१ देखि ६० वर्ष उमेर समूहका ३१ जना र ६० वर्ष उमेर माथिका १५ जना कोरोना सङ्क्रमित रहेका छन् । यो तथ्याङ्कलाई हेर्ने हो भने धरानमा २१ वर्षदेखि ४० वर्ष उमेरका युवाहरूमा सङ्क्रमण धेरै देखिएको छ ।
अहिलेसम्म धरानमा ३२ सय ४२ पीसीआर स्वाब लिइएको छ । जसमा ३ जना मृतकको स्वाब लिइएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए । धरानमा १ सय ७२ जना सङ्क्रमितमा वैदेशिक रोजगारीबाट आएका ३६ जना, समुदायका ८१ जना, बीपी प्रतिष्ठानका कर्मचारी ३८ जना नेपाली सेना १७ जना रहेका छन् ।
त्यसमध्ये उपचाररत ७० जना, होम आइसोलेसनमा ३२ जना रहेका छन् । ८० जना निको भएर घर फर्किएका छन् । धरानमा पछिल्लो पटक मृत्यु भएका धरान–११ मोतीपथका ६५ वर्षीय पुरुषको स्वाब परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । उनमा सामान्य लक्षण देखिए पनि हस्पिटल गएका थिएनन् । उनी धेरैतिर हिँडेको पाइएकोले कन्ट्याक्ट ट्रेसिङमा ५० भन्दामाथि आउन सक्ने स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।
विश्वका धेरै राष्ट्रको मृत्युदर ३ देखि ७ प्रतिशत रहेको छ । सो अनुपातमा नेपालको कम अर्थात् ०.१ प्रतिशत रहेको छ । विश्वको अनुपातमा नेपालको मृत्युदर कम भए पनि धरानको भने धेरै २.९ प्रतिशत रहेको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।