विराटनगर/ विराटनगरस्थित कोशी अस्पतालका स्वास्थ्यकर्मीहरूले चार महिनादेखि जोखिम भत्ता र प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन् । राज्यले दिने भनेको जोखिम र प्रोत्साहन भत्ता गत चैत महिना यतादेखि नपाएको उनीहरूले बताएका हुन् ।

१५ साउनमा विराटनगरस्थित कोशी अस्पतालको ओपिडी इञ्चार्जसहित दुई जना स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको ओपिडी सेवा बन्द भयो । सङ्क्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट टे«सिङ गरी स्वाब सङ्कलन र अस्पताल सेनिटाइज गरेको एक सातापछि अस्पतालको ओपिडी सेवा पुनः सञ्चालनमा आयो ।

हालसम्म कोशीमा दुई जना डाक्टरसहित २२ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण देखियो । जसमध्ये ९ जना अस्पतालमा कार्यरत नर्स रहेका छन् । उनीहरू कोशी अस्पतालको कोडिभ उपचार केन्द्रको आइसोलेसनमा बसेर सङ्क्रमणमुक्त भई केही स्वास्थ्यकर्मीहरू पुनः काममा फर्किएका छन् ।

तर उनीहरूमा काम गर्ने जोस पहिलेको जस्तो छैन । किनभने कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि फ्रण्ट लाइनमा खटिने स्वास्थ्यकर्मीलाई सरकारले दिने भनेको प्रोत्साहन र जोखिम भत्ता उनीहरूले पाएका छैनन् ।

कोशी अस्पतालमा नेपाल सरकारतर्फका २ सय ४९ र विकास समितिका २ सय ६७ जनाको दरबन्दी रहेको छ । जसममध्ये कोशी अस्पतालमा ९२ जना डाक्टरसहित करिब पाँच सयको सङ्ख्यामा स्वास्थ्यकर्मी कार्यरत छन् । ‘काम गर्ने क्रममा सङ्क्रमित भइयो । आइसोलेसनमा दुई साता बसेपछि रिपोट नेगेटिभ आयो ।

त्यसपछि क्वारेण्टिनमा बसेपछि पुनः काममा फर्किएको छु’ एक चिकित्सकले भने, ‘तर, राज्यले हाम्रो कामको मूल्याङ्कन गर्न सकेको छैन ।’ कसरी गरेन त भन्ने जिज्ञासामा ती चिकित्सकले भने, ‘सरकार आफैले स्वास्थ्यकर्मीलाई प्रोत्साहन र जोखिम भत्ता दिने घोषणा ग¥यो । एक महिनाको पाइयो । त्यसयता अहिलेसम्म पाएको छैन । क्वारेण्टिनमा खट्दा जोखिम भत्ता दिने कुरा थियो, ४ महिना भइसक्यो । कहिले दिने ? कसले दिने ? दिने नदिने केही अत्तोपत्तो छैन ।’

कतिपय स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएकोले अब क्वारेण्टिन र आइसोलेसनमा नखटिने चेतावनीसमेत दिएका छन् । कोशी अस्पतालका सुपरिटेण्डेण्ट डा.चुमनलाल दासले चिकित्सकको जोखिम भत्ताको लागि पहल गर्दै आएको बताए । ‘चैत महिनाको जोखिम भत्ता आएको थियो’ उनले भने, ‘त्यो हामीले सबैलाई बाँडिदियौं । त्यसयता आएको छैन ।’

चार महिना बितिसक्दा पनि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले प्रोत्साहन र जोखिम भत्ता नपाएपछि उनीहरूले कोशी अस्पतालका सुपरिटेण्डेण्ट डा. दासलाई संयुक्त रूपमा ज्ञापन–पत्र बुझाउने तयारी गरेका छन् । उनीहरूले आज (बुधबार) अस्पतालका मेसुलाई भेटेर ज्ञापन–पत्र बुझाउने तयारी गरेको बुझिएको छ ।

मागको सुनवाइ भएन
यसअघि पनि नेपाल निजामती कर्मचारी सङ्गठनले प्रदेश १ ले कोरोना भाइरसको उपचारमा फ्रण्टलाइनमा संलग्न स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको भन्दै तत्काल भत्ता दिन माग राख्दै मुख्यमन्त्री शेरधर राईलाई ज्ञापन–पत्र बुझाएको थियो । तर, कर्मचारी सङ्गठनले उठाएको माग हालसम्म सुनुवाइ भएको छैन ।

प्रदेश तथा स्थानीय तहले जोखिम भत्ताको व्यवस्थापन गर्नुपर्ने व्यवस्था भए पनि धेरै स्थानीय तहहरूले सो सुविधा उपलब्ध नगराएको र केही स्थानीय तहले आफूखुसी मापदण्ड प्रतिकूल देखिन आएको विषयले बहुसङ्ख्यक राष्ट्रसेवक कर्मचारीहरूलाई कार्यक्षेत्रमा अन्यायपूर्ण वातावरण भएको भन्दै सङ्गठनले आफ्नो ध्यानाकर्षण भएको जनाएको थियो ।

सङ्गठनले सीमित साधन र स्रोतका बावजुद पनि आफ्नो जीवन र स्वास्थ्यको परवाह नगरी क्वारेण्टिन, आइसोलेसन सेण्टर तथा कोभिड अस्पतालहरूमा फ्रण्टलाइनमा खटिने स्वास्थ्यकर्मी तथा अन्य सम्बद्ध राष्ट्रसेवकहरूको भूमिका र योगदानको उच्च सम्मान गरिनुपर्ने बताएका थिए ।