सङ्खुवासभा/ सङ्खुवासभा सिलिचोङ गाउँपालिका–३ ताम्कुबासी एम्बुलेन्स गुडाउने ध्याउन्नमा हरेक बिहान घरबाट निस्कन्छन् ।

स्थानीयको हातमा कुटो, कोदालो, ह्याम्मर, साबेललगायतका घरेलु औजारहरू लिएर १० बजे घरबाट निस्कने गरेका हुन् । बर्खायामसँगै परेको पानीले सडक पूर्णरूपमा क्षति पुर्याएपछि जनश्रमदान गर्न उनीहरू सडक मर्मतका लागि निस्किएका हुन् ।

सिलिचोङ गाउँपालिका कार्यालयदेखि साम्तिङ सैजा र मानेटार गाउँसम्म बाटो बनाउने भन्दै उनीहरूले टोल विकास संस्थामा नै निर्णय गरे । सोही निर्णयबमोजिम उनीहरू खाल्डाखुल्डी पुर्ने, पर्खाल लगाउने, सडकमा रहेका साना ढिस्काहरू हटाउने काममा ३ दिन लागिपरे । एक घर, एक जनाका दरले उनीहरू सडक मर्मतमा लागेका हुन् । बिरामी पर्दा कम्तीमा एम्बुलेन्ससम्म सञ्चालन गर्नसके राहत हुने भन्दै एकजुट भएर श्रमदानमा जुटेको स्थानीय राहुल कुलुङको भनाइ छ । उनले यसरी एकजुट भएर काम गर्दा सफल भएको बताए ।

गाउँपालिका कार्यालयदेखि पर्यटकीय क्षेत्रको रूपमा परिचित नागीटारसम्म जाने सडक नै बिग्रिएपछि आवत–जावतमा समस्या भएको हो । करिब ९ किलोमिटर सडक सरसफाइ गर्दा ३६ जनालाई ३ दिन लागेको छ । बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म पुर्णरूपमा खट्नुपर्ने गाउँलेले नै नियम बनाएर सरसफाइ गरेको स्थानीय बुद्धि कुलुङले बताए ।

सरकारको मुख ताकेर मात्र नहुने कतिपय कामका लागि आफै लागिपर्नुपर्ने उनीहरू बताउँछन् । सरकारले गरिहाल्छ नि हामीले किन गर्ने भन्ने उक्ति पनि विभिन्न ठाउँमा नसुनिएको भने होइन, तर सिलिचोङ गाउँपालिका वडा नं. ३ ताम्कुका उनीहरू एकजुट भएर सार्वजनिक सडक सरसफाइमा लागिपरेका छन् । उनीहरू आमसभा बसेर नै बिरामी हुँदा सहज हुने भन्दै सबै लागिपरेको स्थानीय लक्ष्मी कुलुङले बताइन् ।

सिलिचोङ गाउँपालिकाको एउटा एम्बुलेन्स छ । त्यो एम्बुलेन्स पनि बर्खा लागेसँगै गाउँपालिकामा नै थन्किने गरेको छ । तर अहिले स्थानीयले सडक सरसफाइ गरेपछि ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रदेखि ९ किलोमिटर वरिपरिका बिरामीहरू उपचारका लागि ल्याउने लैजाने गरेको छ । समाजका सक्षम नागरिक भएर सक्ने काममा सरकारलाई सघाउनु सबैको दायित्व हो । त्यसैले सक्ने कार्यमा यसरी नै सबै एकजुट हुन जरुरी छ ।