विजयपुर/ धरान–१२ र १४ मा पनि कोरोना भाइरसका सङ्क्रमित फेला परेसँगै अब भने एउटा वडामात्रै कोरोनामुक्त वडा बनेको छ ।
धरानको २० नम्बर वडामा हालसम्म सङ्क्रमित फेला नपरेका हुन् । एक दिनअघिसम्म धरानको १२ र १४ नम्बर वडामा पनि सङ्क्रमित फेला परेका थिएनन् । तर, पछिल्लो समय धरान–१२ र १४ मा पनि एक–एक जना सङ्क्रमित देखिएपछि अब भने धरान–२० मात्रै कोरोनामुक्त वडाको रूपमा रहेको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परीक्षा शाखामा कार्यरत ४७ वर्षीय पुरुषको सम्पर्कमा आएका धरान–१२ र १४ नम्बर वडाका १४ जनाको स्वाब सङ्कलन गर्ने क्रममा तीन वडाका एक–एक जनामा कोरोना सङ्क्रमण देखिएको हो । अझै दुई जनाको रिपोर्ट आउन बाँकी छ ।
धरान–१२ का १७ वर्षीय किशोर र धरान–१४ की ४७ वर्षीया महिलामा कोरोना देखिएको हो । धरान–१८ का एकै परिवारका ४४ वर्षीया, ५३ वर्षीा र ७२ वर्षीया महिला रहेको स्वस्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार उक्त घरमा यसअघि एक जना पुरुषमा सङ्क्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ गरेर उनीहरूको स्वाब सङ्कलन गरिएको थियो । धरान–५ ठेगाना भएकी ३६ वर्षीया एक महिलाको पनि सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो पटक ७ जना सङ्क्रमित थपिएसँगै धरानमा सङ्क्रमितको सङ्ख्या १ सय ७० पुगेको छ । अहिले १ सय ८ जना सक्रिय बिरामी आइसोलेसनमा रहेका छन् । त्यसमध्ये ६० जना होम आइसोलेसनमा छन् । ६२ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म कोरोनाको कारणबाट धरानमा ५ जनाको मृत्यु भएको छ ।