धरान / सुनसरीको पत्रकारितामा कोरोनाले पारेको प्रभाव र अवस्थाको वृहत अध्ययन गर्न प्रेस संगठन सुनसरीले अध्ययन कार्यदल गठन गरेको छ ।
संगठनका केन्द्रीय सल्लाहाकार भवानी बरालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको हो । उक्त अध्ययन कार्यदलमा  संगठनका केन्द्रीय सदस्यहरु देवेन्द्र कार्की, केशव घिमिरे, जयकृष्ण यादव, प्रदेश सदस्य राम खरेल, सुनसरी सहसंयोजक शेखर ढकालसदस्य सचिव रहेको ६ सदस्यीय रहेको छ ।

कार्यदललाई १५ दिन भित्र अध्ययन प्रतिवेदन बुझाउन समय दिइएको छ । कार्यदलबाट प्राप्त निष्कर्ष र सिफारिशका आधारमा आगामी राहत वा सहयोग वितरणलाई व्यवस्थित गर्न नेपाल पत्रकार महासंघलगायत विभिन्न निकायसँग छलफल र समन्वय गरिने संगठनका सुनसरी
संयोजक श्रीशिशा राईले जानकारी दिए ।
कोभिड १९ महामारीको बहानामा श्रमजिवी पत्रकारको सेवा सुविधा कटौती गर्ने, कार्यादेश नदिने र केही सञ्चारमाध्यमले निष्कासन समेत गरेको जानकारी प्राप्त भएकोले पत्रकारहरुको अवस्थाको विश्लेषण गरि तत्काल सम्बोधन गर्न समेत नेपाल पत्रकार महासंघ महासंघ सुनसरी समक्ष माग गरेको छ ।
आइतबार एक ज्ञापन पत्र महासंघका अध्यक्ष अमर खड्कालाई बुझाउदैं संगठनले श्रमजिवी पत्रकारहरुलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्न समेत माग गरेको छ ।

आफुखुशी वितरण गरिने सहयोग तथा राहतले जिल्लामा क्रियाशिल रहेका संगठनहरु बिच अस्वस्थ्य प्रतिष्पर्धा हुन सक्ने संयोजक राईको भनाई छ । ‘प्रेस संगठन नेपाल सुनसरीसहित विभिन्न संघसंगठनहरु राहत तथा सहयोग संकलनमा अहोरात्र खटिरहेका छन्, यो राम्रो पक्ष हो, राईले भने, –‘सङ्कलित राहत सामाग्री वा सहयोगलाई आफुखशी वितरण गर्दा जिल्लाका संगठनहरु बिच अस्वस्थ प्रतिस्पर्धा उत्पन्न हुनसक्ने जसले गर्दा वितरण सन्तुलित नभई संगठनहरु बिच वैमनस्यता सिर्जना हुनसक्दछ ।’

केही दिन अघिदेखि प्रेस युनियन सुनसरीले पत्रकारहरुका लासिग भनेर राहत संकलन गरिरहेको छ । संगठनहरु विच अस्वास्थ्य प्रतिस्पर्धा हुने भन्दैं यस्ता राहतका कार्यक्रम महासंघ मार्फत गर्न संगठनले आग्रह गरेको छ ।