धनकुटा/ धनकुटा जिल्लामा दिन प्रतिदिन कोरोना संक्रमितहरु बढ्दै गएपछि यहाँ उपचारका लागि आइसोलेसन कक्ष आइतबारदेखि सञ्चालनमा आएको छ ।

धनकुटा नगरपालिका–६ मा रहेको औद्योगिक ग्राममा २० बेडको आइसोलेसन कक्ष सञ्चालनमा ल्याइएको हो । सो ठाउँमा यसअघि धनकुटा नगरपालिकाले क्वारेन्टाइन सञ्चालन गरेको थियो ।

हाल आएर औद्योगिक ग्राममा रहेका केही भवनमा क्वारेन्टाइन र केही भवनमा आइसोलेसन सञ्चालन गरिएको हो । धनकुटामा जिल्लामा पछिल्लो समय संक्रमित संख्या बढ्दै जाँदा उनीहरुलाई राख्न जिल्ला अस्पतालमा बेड अभाव भएकाले आइसोलेसन सञ्चालन गरिएको हो ।

आइसोलेसन कक्ष निर्माण भएसँगै शनिबार संक्रमण पुष्टि भएका १९ जनालाई धनकुटामै राखेर उपचार थालिएको छ । यसअघि धनकुटामा भेटिएका संक्रमितलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अञ्चल अस्पताल विराटनगर र मोरङको गोठगाउँमा रहेको कोभिड अस्पतालमा पठाउने गरिएको थियो ।

यता सरकारले धनकुटामा ४ वटा भेन्टिलेटर, ६ बेडको आइसियू कक्ष सहितको ४० बेडको आइसोलेसन निर्माण गर्न दुई करोड बजेट उपलब्ध गराएको छ । ४ वटा भेन्टिलेटर, ६ बेडको आइसियू कक्ष सहितको ४० बेडको आइसोलेसन कक्ष निर्माण गर्न सरकारले अनुमति प्रदान गरी कोरोना कोष मार्फत बजेटको सिलिङ पठाएको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।

स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईका अनुसार संघीय सरकारले कोरोना संक्रमितलाई उपचार गर्न र कोरोना माहामारीको नियन्त्रण गर्न आइसुलेसन सेन्टर तथा भेन्टिलेटर सहितको आइसियू कक्ष निर्माण गर्न बजेट पठाएको हो । उनले धनकुटामा हाल २० वेडको आइसोलेसन कक्ष निर्माण भएको भए पनि चाँडै ४० बेडको आइसोलेसन बनाइने बताए ।

यस्तै आइसोलेसन सञ्चालनमा आएपछि नेपाल रेडक्रस सोसाइटी धनकुटा जिल्ला शाखाले कम्बल ३० थान, बिर्को सहितको प्लास्किा बाल्टिन १० थान, प्लास्टिक जग ८ थान, स्ट्रेचर १ थान, नुहाउने साबुन ७ दर्जन सहयोग गरेको छ ।