पथरीशनिश्चरे/ विपन्न परिवारलाई राहत प्रदान गर्ने उद्देश्यले मोरङको पथरीशनिश्चरे र कानेपोखरी गाउँपालिकामा पनि ‘फुड बैङ्क’ स्थापना भएको छ ।
गरिमा अनलाइन टेलिभिजन, हाम्रो फाउण्डेसन, भूटानी शिविर व्यवस्थापन समिति, प्रतिभा समाज सुधार युवा क्लब र टिचर क्लब पथरीशनिश्चरेको व्यवस्थापनमा ‘फुड बैङ्क’ स्थापना गरिएको हो । १० नम्बर वडा कार्यालयअगाडि बैङ्कका रूपमा खाद्यान्न सामग्रीको स्टल राखेर अति आवश्यक पर्नेहरूका लागि शुक्रबारबाट खाद्यान्न वितरण सुरु भएको छ ।
लकडाउनका कारण समस्यामा परेका नगरभित्र वा नगरबाहिरका आर्थिक रूपले अति विपन्न, असहाय, असक्त परिवारलाई प्रतिपरिवार ५ किलोग्राम चामल, आधा केजी दाल, आधा लिटर खाने तेल र नुनसहितको प्याकेट उपलब्ध गराउन सुरु गरिएको छ । ‘हामी छौं त केवल एक अर्काका लागि छौं, सकिन्छ मुठ्ठी खोलौं, सकिँदैन लिएर जाऊँ’ भन्ने नाराका साथ अभियानमा युवाहरू जुटेका छन् । यसखाले सहयोगको अभियानका लागि विभिन्न पक्षबाट सहयोग जुट्ने क्रम बढेको अभियानका संयोजक प्रदीपकुमार राईले बताए ।
भूटानी शरणार्थी शिविर व्यवस्थापन समिति पथरीशनिश्चरेले ५ सय केजी चामल, ५० केजी दाल र ५० लिटर खानेतेल उपलब्ध गराएको छ । १० नम्बरका वडाध्यक्ष सागर राई, ईश्वर फार्मेसीका ईश्वरी सापकोटा, समाजसेवी नाम्येहङ राई, नगरपालिकाका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य र वल्र्डलिङ्कका राजन तिम्सिनाले १–१ क्विण्टल चामल प्रदान गरेका छन् ।
त्यसैगरी ७ नम्बर वडासदस्य काँशीराज राई, शिक्षक भुवन पिठाकोटे, जेसीजका प्रदीप फुयाल तथा सञ्जय राईबाट ५०–५० केजी चामल प्रदान भएको छ । क्यापरोज मण्टेश्वरीकी शर्मिला वाइबाले ५० केजी चामल र २० केजी दाल, पथरी जेसीजकी लक्ष्मी भट्टराईबाट ५० केजी चामल र ५० वटा साबुन प्राप्त भएको उल्लेख छ । लेटाङस्थित जाँतेकी सपना राईले ५० केजी चामल र १० लिटर तेल उपलब्ध गराएकी छन् ।
त्यस्तै हालसम्म सहयोग गर्नेहरूमा अमेरिकामा रहेका अशोक राईले १० हजार, जापानमा रहेका गणेश पिठाकोटे मगर र श्रीमती इन्दिरा पिठाकोटे मगरले १ सय केजी चामल उपलब्ध गराएका छन् । क्यानाडाका मनिष सम्बाहाम्फेबाट १ सय केजी चामल, १ कार्टुन तेल र ५ केजी दाल, पारुहाङ ग्रिलका रविन राईबाट १ सय केजी चामल, जापानका मिनिधिङ थक्लुङबाट ५० केजी चामल उपलब्ध भएको छ । १० नम्बर वडाको शाशिष चर्चले १ सय केजी चामल, मगर लाफा नामक संस्थाले १ सय केजी चामल उपलब्ध गराएको छ । यसका साथै उर्लाबारीस्थित कृषालय एग्रोभेट प्रालिले सो अभियानमा खट्नेहरूका लागि ३ सय थान मास्क उपलब्ध गराएको छ ।
त्यस्तै मोरङको कानेपोखरी गाउँपालिकाका ४ वटा सामाजिक संस्थाले पनि ‘फुड बैङ्क’ सुरु गरेका छन् । शुक्रबार बिहान कानेपोखरी–७ स्थित बरगाछी चोकमा लायन्स क्लब अफ कानेपोखरी, रमाइलो जेसिज, नेपाल रेडक्रस सोसाइटी बयरवन उपशाखा र व्यापार प्रबन्ध समितिलगायत संस्थाले ‘फुड बैङ्क’ सुरु गरेका हुन् । शुक्रबार बिहानसम्म १० जनाले चामल, नुन, तेल र दाल फुड बैङ्कमा जम्मा गरेका थिए । ‘फुड बैङ्क’ उद्घाटनको समयमा आर्थिक रूपले अति विपन्न वर्गका लगभग ३० जनाले राहत लगेका छन् ।
लकडाउनका कारण समस्यामा परेका गाउँपालिकाभित्रका आर्थिक रूपले अति विपन्न, असहाय, असक्त परिवारलाई प्रतिपरिवार चामल, दाल, खाने तेल र नुन राहत दिने उद्देश्यले फुड बैङ्क स्थापना गरेको लायन्स क्लब अफ कानेपोखरीका प्रेसिडेण्ट गणेश सुवेदीले बताए । उनले यो व्यवस्थापनमा लागेका चारवटा संस्थाले ५ हजारको दरले सङ्कलन गरिसकेको उनले बताए ।