बेलबारी/ एक युवाको ज्यान जाने गरी बेलबारी–५ कसेनीमा भएको ‘सामूहिक झगडा’ को वास्तविकता प्रहरीले दिएको सूचनाभन्दा फरक रहेको स्थलगत अध्ययनको क्रममा ब्लाष्टले फेला पारेको छ ।

मोरङ प्रहरीले घटना पछाडिको यथेष्ट कारणको सूचना नदिइरहेका बेला ब्लाष्टका संवाददाताले स्थलगत अध्ययनको क्रममा घटनाको ‘गुत्थी’ लोहन्द्रा खोलामा हालिएको बाँसको पुलका कारण हत्या भएको जानकारी प्राप्त गरेको हो ।

स्थलगत अध्ययनको क्रममा घटनाबारे जानकारी दिएका स्थानीय एक जनप्रतिनिधिका अनुसार घटनाको अघिल्लो दिन मोरङको ग्रामथानबाट आएका एक व्यक्तिले (जसको हालसम्म पहिचान नखुलेको) बाँसको अस्थायी पुलबाट मोटरसाइकल तार्दा २५ रुपैयाँ शुल्क तिरेका थिए । बेलबारीस्थित लोहन्द्रा खोलाको पुल केही वर्षअघि बाढीले बगाएका कारण स्थानीयले बाँसको अस्थायी पुल निर्माण गरेका थिए । जसमा मानिसहरूलाई आवत–जावतमा निःशुल्क गरिए पनि दुई पाङ्ग्रे सवारीको हकमा २५ रुपैयाँ लिने व्यवस्था गरिएको थियो । केही युवाले उक्त शुल्क उठाउँदै आएका थिए ।

तर, केही स्थानीयले लिनुपर्ने र केहीले नलिनु पर्ने भन्दै विवाद हुँदै आएको थियो । ग्रामथानबाट आएका ती व्यक्तिले पनि मोटरसाइकल तार्दा शुल्क लिएको विषयमा विवाद उत्पन्न भएपछि नै यो अवस्था आएको ती जनप्रतिनिधि बताउँछन् । बिहीबार साँझ पनि बेलबारी–५ कसेनीका युवाहरूबीच बाँसको पुलकै विषयमा विवाद उत्पन्न भएको थियो ।
त्यो विवादका प्रत्यक्षदर्शीसमेत रहेका ग्रामथानका ती मोटरसाइकलमा आएका युवा पनि विवादमा सामेल भएको ती जनप्रतिनिधि बताउँछन् ।

त्यसपछि विवाद बढेर गएको थियो । ती युवा त्यहाँबाट जानुको सट्टा फोन गरेर साथीभाइलाई बोलाएका थिए । बिहीबारको राति करिब ९ बजेतिर दुई पक्षबीच सामान्य झगडासमेत भएको थियो । यता विवादबारे जानकारी पाएर मोरङको हरैंचाबाट प्रहरी टोली आइपुगे पनि घटना सामसुम भइसकेका कारण प्रहरी फर्किएको नाम नछाप्ने शर्तमा एक स्थानीयले बताए ।

भोलिपल्ट अर्थात् शुक्रबार सोही विषयमा ३०–३५ जना युवाको समूह गाउँमा आएर राति झगडामा संलग्नहरूको खोजी गरेको स्थानीय बताउँछन् । तर, राति झगडामा संलग्नहरूलाई नभेटेपछि सोही क्रममा स्थानीय चन्द्रबहादुर राई ती युवाहरूलाई सम्झाउनका लागि पुगेका थिए ।

सोही क्रममा चन्द्रबहादुरलाई एक्कासि बञ्चरोको पासोले प्रहार गरेपछि उनी गम्भीर घाइते बनेका थिए । उनको उपचारको क्रममा निधन भएको छ भने उनका माइला दाजु सहीकुमार, कान्छा भाइ बालकुमार र भतिजो गौरव राईमाथि पनि प्रहार गरिएको थियो । वडाध्यक्ष विश्वबन्धु बस्नेतका अनुसार अघिल्लो दिनको घटनासँग जोडिएका युवाहरू भएको भन्दै चन्द्रबहादुरको परिवारमाथि आक्रमण गरेको बताए । उनले भने, ‘जबकि अघिल्लो रातको घटनाबारे यिनीहरू आफूहरूलाई थाहै नभएको बताउँछन् ।’

उनका अनुसार मृतक चन्द्रबहादुर विराटनगरमा बसेर नृत्य सिकाउँदै आएका थिए । लकडाउनका कारण उनी केही समयअघि मात्रै घर आएका थिए । उनका दाजु सहीकुमार भने लोहन्द्रा खोलाको पुलको सुरक्षागार्डका रूपमा कार्यरत थिए । तर, प्रहरीले बिहीबार राति मादक पदार्थ सेवन गरेर दुई पक्षबीच झगडा भएको जनाएको थियो । घटना के कति कारणले भएको भन्ने यथेष्ट सूचना प्रहरीले दिएको थिएन ।

घटनामा संलग्नमध्ये पाँचजनालाई प्रहरीले शुक्रबार नै पक्राउ गरिसकेको मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले बताएका थिए । पक्राउ पर्नेमा मोरङ ग्रामथान गाउँपालिका–६ का ३८ वर्षीय विशालकुमार खवास गच्छदार, ३४ वर्षीय जितेन्द्र चौधरी, ३१ वर्षीय दीपेन्द्र चौधरी, ३२ वर्षीय वीरेन्द्रकुमार खाँ र बेलबारी–५ का ३१ वर्षीय राजेन भनिने राजिन्द्र राई रहेका छन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।