धरान / धरान उपमहानगरपालिकाका मेयर तिलक राईको निर्देशनमा धरान २० स्थित भालढुंगा सामुदायिक वन क्षेत्रमा गैरकानुनी रुपमा रुख काटिएको उपभोक्ताहरुले बताएका छन् ।
विष्णुपादुका मामाली घर भएका मेयर राईले घर बनाउनको लागि बिहिबार काठ माग गर्दै निवेदन दिएको बताइएको छ । उनले शनिबार आफ्नै उपस्थितिमा सखुवाको रुख ढालेको उपभोक्ता समुहका पदाधिकारीहरुको आरोप छ ।
घर बनाउन भन्दै मेयर राईले आमाको नामबाट निवेदन दिए पछि शुक्रबार वन समुहको वैठक बसेर ढलापडा रुख खोजेर दिने सहमति भएको वन समुहका अध्यक्ष बुद्धिमान तामाङ बताउछन् ।
शनिबार ढलापडा रुख खोज्न जाने भन्दा कोषाध्यक्ष भिम बस्नेतले नभ्याउने भनेपछि आइतबार जाने सहमति भए पनि शनिबार बिहानै मेयर राई आएर कोषाध्यक्षसहित जंगल गएर सालको रुख ढालेको पाइएको वन समुहका उपभोक्त विकास तामाङले बताए ।
‘मेयर ज्युले नै निवेदन दिए पछि खोजेर ढलापडा रुख दिने भन्ने समुहमा सहमति भएको रहेछ । आइतबार जंगल जाने सहमति भए पनि मेयर राईआएर शनिवार नै रुखकाट्ने काम भए छ । ढलापडा काट्नु पर्ने तर ठाडो रुख काटिएको पाइएको छ ।’– उनले भने ।
शनिबार बेलुका बाख्रा गोठालेहरुले भने पछि मात्र अध्यक्षले थाहा पाएका थिए । मेयरको निर्देशनमा काचा रुख काटिए पछि आइतबार उपभोक्ताहरु रुख काटेको ठाउँमा स्थलगत अवलोकन गरेका थिए । सखुवाको रुख मेशिनले काटेर ढालेको र १२ टुन बनाएको अवस्थामा रहेको भेटिएको थियो । उपभोक्ताहरुले काठको माग गर्दा निवेदन थन्काएर राखेको तर मेयरलाई भने निवेदन दिनु बित्तिकै निर्णय पनि नगरि रुख ढालेको भन्दै स्थानीयले आक्रोस व्यक्ति गरेको भिडियोसमेत सार्वजनिक भएको छ ।
यता मेयर राईलाई बुझ्दा अनभिग्यता प्रकट गरेका छन् । यस विषयमा आफुलाई केही जानकारी नभएको र निवेदनसमेत नदिएको बताए ।
इलाका वन कार्यालय धरानका रेञ्जर ईश्वरी बास्तोलाले घटनाबारे जानकारी पाएको बताए । काचो रुख काट्ने कुनै प्रावधान नरहेकाले वन उपभोक्ता समुहलाई कारवाही प्रक्रिया अगाडी बढ्ने बताए । ‘हामी भोली मुचुल्का उठाउछौं को कस्को संलग्नता छ, उनीहरुलाई कारवाही हुन्छ ।’– बास्तोलाले भने ।