इनरुवा/पछिल्लो समय कोरोनाको बढ्दो जोखिमसँगै हरेक क्षेत्र प्रभावित बन्न पुगेको छ । जसमा २४ सै घण्टा जनसेवामा खटिँदै आएको प्रहरी सेवामा समेत बाधा उत्पन्न हुन पुगेको छ ।
यतिबेला जिल्ला प्रहरी कार्यालय सुनसरी इनरुवाको कार्यालयसहित मातहतका प्रहरी कार्यालयहरूमा कोरोनाको कहरसँगै सेवा प्रवाहमा कठिनाइ हुन थालेको छ । प्रहरीमा बढ्दो सङ्क्रमण र कन्ट्याक्ट ट्रेसिङका कारण जनशक्तिमा कमी आउँदा ड्युटीमा कटौती मात्रै भएको छैन, कार्यालयले गम्भीर प्रकृति बाहेकका मुद्दाको सुनुवाइ तत्कालका लागि रोकेको छ । प्रहरी प्रमुख कमल थापाका अनुसार जिल्ला प्रहरी कार्यालयबाट प्रदान हुँदै आएको सेवामध्ये तत्कालका लागि गम्भीर प्रकृति बाहेकका मुद्दा र मामिलाको सेवा प्रवाह गर्नसक्ने अवस्था छैन ।
कोरोना सङ्क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै सेवाग्राहीले सोही अनुरूपको जटिलतालाई बुझिदिन थापाले आग्रहसमेत गरे । उनले अत्यावश्यक अवस्थाबाहेक घरबाहिर नहिँड्न समेत जिल्लावासी समक्ष आग्रह गरे । प्रहरी प्रमुख थापाले भने, ‘जोखिमका बावजुद जनताको शान्ति सुरक्षाका लागि खटिँदै आएका सुरक्षाकर्मी कोरोना सङ्क्रमण र कन्ट्याक्ट ट्रेसिङका आधारमा आइसोलेसनमा रहने क्रम बढ्दै जाँदा सेवा प्रवाहमा समस्या बढ्दै गएको छ । त्यसैले पनि कोरोनाका कारण कार्यालयबाट प्रदान हुँदै आएको सेवा पूर्ण रूपमा प्रवाह गर्ने अवस्था छैन । यद्यपि सङ्क्रमणको जोखिमका बावजुद पनि ड्युटीमा प्रहरी परिचालित छन् ।
सुनसरीका प्रहरी प्रमुख थापाले नागरिक स्वयम् सजग र सचेत रहनसके आपराधिक घटनामा स्वतः कमी आउने बताए । उनले आफूसँग कुनै सूचना भए नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारण समक्ष आग्रह समेत गरे । उनले प्रहरीले गम्भीर प्रकृति बाहेकका मुद्दामा फोकस गर्न सक्ने अवस्था नरहे पनि आवश्यकता परेको खण्डमा प्रहरी अहोरात्र खटिन तयार रहेको स्पष्ट पारे । जिल्ला प्रहरी कार्यालयले कार्यालयमा हुने भीडभाडलाई व्यवस्थित गर्दै मुद्दाको चाप घटाउन अत्यावश्यक र गम्भीर प्रकृतिको सेवा मात्र तत्काल अघि बढाइने जनाएको छ । उसले अति आवश्यक परेको खण्डमा प्रहरीको सेवा लिन परे प्रहरी प्रवक्ताका साथै आवश्यकता हेरी प्रहरी प्रमुख वा प्रहरी निरीक्षकसँग समन्वय वा फोन सम्पर्कमा आउन भनेको छ ।
दूरी कायम गर्नुपर्ने र बढ्दो जोखिमका कारण कार्यालयमा अनावश्यक आउजाउ रोक्नुपर्ने अवस्था आएकाले परिस्थितिलाई सहज रूपमा लिएर डिजिटल माध्यमबाट सम्पर्क बढाउन जिल्ला प्रहरी कार्यालयले अनुरोध समेत गरेको छ । शुरुवातमा चमेना गृह सञ्चालकमा कोरोना देखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीमा मङ्गलबार ५ थुनुवामा सङ्क्रमण पुष्टि भएको थियो । सो दिन जिल्ला प्रहरी कार्यालय सुनसरी मातहतका युनिटहरूमा रहेका २१ जना थुनुवामा एकसाथ कोरोना पुष्टि भएको थियो । सङ्क्रमित सबै थुनुवालाई छुट्टै स्थानमा सारिएको बताए पनि उनीहरूसँगको कन्ट्याक्ट ट्रेसिङका आधारमा समेत सुरक्षाकर्मी जोखिममा परेको कार्यालयको ठहर छ । कार्यालयले प्रहरी कर्मचारीसहितको पीसीआर परीक्षणको क्रम जारी रहेको जनाएको छ ।
कोरोनाका कारण जिल्ला प्रहरी कार्यालयले भाडामा बस्दै आएका प्रहरीलाई रोलकलका आधारमा बाहिरैबाट ड्युटी खटाउन थालेको छ । भित्रका प्रहरीलाई सकेसम्म भित्रै रहने गरी ड्युटीमा लगाउने गरिएको कार्यालयले जनाएको छ । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार पछिल्लो अवस्थासम्म जिल्लाभित्र ५६ जना प्रहरी सङ्क्रमित भइसकेका छन् । शुक्रबार मात्र इनरुवामा १३ प्रहरी सङ्क्रमित पाइएका छन् । उनीहरू सरुवा भई सुनसरी आएका थिए । स्वाब परीक्षण गरी क्वारेण्टिनमा राखिएका उनीहरूमा कोरोना पोजेटिभ पाइएको थियो । त्यसैगरी शुक्रबार नै कोशी गाउँपालिकामा कार्यरत थप २ प्रहरीमासमेत कोरोना पुष्टि भएको थियो ।