पथरीशनिश्चरे । कोरोना भाइरसको संक्रमणबाट जोगिन जारी बन्दाबन्दी (लकडाउन) का समयमा आर्थिक रुपले अति विपन्न परिवारको खाद्यान्न राहतका लागि मोरङको पथरीशनिश्चरेमा पनि ‘फुड बैंक’ स्थापना भएको छ ।
गरिमा अनलाइन टेलिभिजन, हाम्रो फाउण्डेशन, भूटानी शिविर व्यवस्थापन समिति, प्रतिभा समाज सुधार युवा क्लब र टिचर क्लब पथरीशनिश्चरेको व्यवस्थापनमा ‘फुड बैंक’ स्थापना गरिएको हो । १० नम्बर वडा कार्यालय अगाडि बैंकका रुपमा खाद्यान्न सामग्रीको स्टल राखेर अति आवश्यक पर्नेहरुका लागि शुक्रबारबाट खाद्यान्न वितरण सुरु भएको छ ।
पथरीशनिश्चरे नगर प्रमुख यमुना विष्ट वास्तोलाले खाद्यान्न प्रदान गरेर बैंकको सुरुवात गरेकी छन् । नगरमा यसखाले अभियान सञ्चालनमा युवाहरुको सक्रियताप्रति उनले प्रसंसा गरेकी छन् । १० नम्वर कार्यवाहक वडाध्यक्ष मैनादेवी फूयँल आचार्यले वडा कार्यालयको समेत सहयोगमा अतिआवश्यक परेकाहरुका लागि राहत प्रदान गर्न सहयोग जुटाउने अभियानले वडा सहित समस्यामा परेका समग्र मानिसहरुमा ठूलो सहयोग पुग्ने बताइन् ।
लकडाउनका कारण समस्यामा परेका नगरभित्र वा नगर बाहिरका आर्थिक रुपले अति विपन्न, असहाय, असक्त परिवारलाई प्रति परिवार ५ किलोग्राम चामल, आधा केजी दाल, आधा लिटर खाने तेल र नून सहितको प्याकेट उपलब्ध गराउन सुरु गरिएको छ ।
‘हामी छौं त केवल एक अर्काका लागि छौं’, ‘सकिन्छ मुठी खोलौं, सकिदैन लिएर जाउँ’ भन्ने नाराका साथ अभियानमा युवाहरु जुटेका छन् । यसखाले सहयोगको अभियानका लागि विभिन्न पक्षबाट सहयोग जुट्ने क्रम बढेको अभियानका संयोजक प्रदीपकुमार राईले बताए । उनले भने ‘सक्नेले सहयोग गर्ने र नसक्नेले सहयोग लिएर जाने अवधारणामा यो बेला साँच्चै नै चुल्हो बल्न समस्या भएकालाई हामीले सहयोग पुर्याउने काम थालेका हौं ।’ उनले जुटेको सहयोग र वितरण भएको खाद्यान्नको विवरण स्पष्ट रुपमा सञ्चारमाध्यमबाट प्रकाशन प्रसारण गर्दै सम्पूर्ण गतिविधि दुरुुस्त रुपमा सार्वजनिक गर्ने बताए ।
यसखाले बैंकको अभियानका लागि विभिन्न पक्षबाट सहयोग जुट्ने क्रम बढेको छ । जसमा, भूटानी शरणार्थी शिविर व्यवस्थापन समिति पथरीशनिश्चरेले ५ सय केजी चामल, ५० केजी दाल र ५० लिटर खानेतेल उपलब्ध गराएको छ । १० नम्वरका वडाध्यक्ष सागर राई, इश्वर फार्मेसीका इश्वरी सापकोटा, समाजसेवी नाम्येहङ राई, नगरपालिकाका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य र वल्र्डलिंकका राजन तिम्सिनाले १,१ सय केजी चामल प्रदान गरेका छन् ।
त्यसैगरी, ७ नम्वर वडासदस्य काँशीराज राई, शिक्षक भुवन पिठाकोटे, जेसीजका प्रदिप फूयाँल तथा सञ्जय राईबाट ५०,५० केजी चामल प्रदान भएको छ । क्यापरोज मन्टेश्वरीकी शर्मिला वाइवाले ५० केजी चामल र २० केजी दाल, पथरी जेसीजकी लक्ष्मी भट्टराईले ५० केजी चामल र ५० वटा साबुन प्राप्त भएको उल्लेख छ । लेटाङस्थित जाँतेकी सपना राईले ५० केजी चामल र १० लिटर तेल उपलब्ध गराएकी छन् ।
त्यस्तै हालसम्म सहयोग गर्नेहरुमा, अमेरिकामा रहेका अशोक राईले १० हजार, जापानमा रहेका गणेश पिठाकोटे मगर र श्रीमती इन्दिरा पिठाकोटे मगरले १ सय केजी चामल उपलब्ध गराएका छन् । क्यानाडाका मनिष सम्वाहाम्फेबाट १ सय केजी चामल, १ काटन तेल र ५ केजी दाल, पारुहाङ ग्रिलका रविन राईबाट १ सय केजी चामल, जापानका मिनिधिङ थक्लुङबाट ५० केजी चामल उपलब्ध भएको छ । १० नम्बर वडाको शाशिष चर्चले १ सय केजी चामल, मगर लाफा नामक संस्थाले १ सय केजी चामल उपलब्ध गराएको छ ।
यसका साथै उर्लाबारीस्थित कृषालय एग्रोग्रेट प्रालिले सो अभियानमा खट्नेहरुका लागि ३ सय थान मास्क उपलब्ध गराएको छ । कोरोनाको जोखिमबाट बच्ने सन्दर्भमा १० नम्वर वडा कार्यालयले वडास्थित ‘प्रहरीको साथी म’ लाई शुक्रबार निःशुल्क बिमा गरिदिएको छ । साथै ‘फुड बैंक’को व्यवस्थापनमा पनि सघाएको छ ।