ताप्लेजुङ/ दलित बिहे गरेको भन्दै ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका राजिन्द्र बुढाक्षेत्रीलाई आफ्नै बुबाको काजकिरिया गर्नबाट बञ्चित गरिएको छ ।
गत साउन १८ गते निधन भएका बुबाको दाहसंस्कारसहित काजकिरिया गर्नबाट बञ्चित गरिएको पीडित बुढाक्षेत्रीले बताए । दलितकी छोरी बिहे गरेको निहुँमा आफूलाई काजकिरिया र अन्तिम संस्कारबाट बञ्चित गरिएको भन्दै उनीहरूले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा जाहेरी दिएका छन् ।
राजिन्द्र र श्रीमती फूलमाया विश्वकर्माले आफ्नै परिवारभित्रका चार जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका हुन् । सिदिङ्वा–४ साब्लाखु घर भई हाल सुनसरीको इटहरी बस्दै आएका ४६ वर्षीय प्रेम बुढाक्षेत्री, साल्बोटेका ७२ वर्षीय रामबहादुर बुढाक्षेत्री, ५१ वर्षीय बुद्धिप्रसाद बुढाक्षेत्री र ५३ वर्षीय खड्क बुढाक्षेत्रीविरुद्ध जाहेरी दर्ता गराएका हुन् ।
‘सिकिस्त बिरामी परेका बाबुको साउन १८ गते निधन भयो, बुबाको निधनपछि दाहसंस्कार तथा काजकिरियाका लागि आउँदा दाजु तथा आफन्तले काजकिरियामा सामेल हुन दिएनन्’ –पीडित राजिन्द्रले भने । उनले २०६० सालमा साब्लाखु घर भएकी फूलमायासँग भागेर बिहे गरेका थिए । विवाहपछि उनीहरू मूलघरबाट छुट्टिएर बस्दै आएका थिए । संयुक्त दलित अधिकार मञ्च ताप्लेजुङका अध्यक्ष छत्रबहादुर विश्वकर्मा र दलित अधिकारकर्मीसहितको टोली पुगेर जाहेरी दिइएको उनले बताए ।
‘बुबा बिरामी हुनुभएपछि साउन १० गते बिर्तासिटी अस्पतालमा उपचारका लागि लग्यौँ, निको नहुने भएपछि अस्पताले साउन १७ गते डिस्चार्ज गर्यो, त्यसपछि साब्लाखुस्थित मूल घरमा ल्याएर राख्यौँ, अचानक १८ गते निधन भयो, निधनपछि आफ्ना काका रामबहादुर बुढाक्षेत्रीले कुल वंशबाट तिमीहरूलाई हामीले बहिष्कार गरिसकेका छौँ, तिमीहरू अछुत जातका मानिसहरूलाई क्षेत्रीको हुद्दामा आउन दिँदैनौं, मलामी जान, केश काट्न, काजकिरिया गर्न पाउँदैनौ भनेर दाहसंस्कारमा सामेल हुनै दिइएन’–राजिन्द्रले भने ।
उक्त समयमा भेला भएका पुरोहित, पण्डितले समेत परिवारमा जातीय कुरा गर्नु हुँदैन भनेर भन्दाभन्दै आफ्ना दाजुभाइले बेवास्ता गरेको उनको भनाइ छ । आफूलाई जन्म दिने बाबुले विश्वकर्माको छोरीसँग विवाह गर्दासमेत विभेद नगरेको तर आफ्ना दाजुभाइले भेदभाव गरेकाले हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।
यता ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी महेन्द्रकुमार श्रेष्ठले जाहेरी आएकाले कानूनी कारबाही अघि बढाइएको जानकारी दिए । ‘हामीलाई बुधबार जातीय छुवाछुत सम्बन्धी चार जनाविरुद्ध किटानी जाहेरी परेको छ’ डिएसपी श्रेष्ठले भने, ‘इलाकाहरूमा पनि जानकारी गराएका छौँ । जाहेरीअनुसार अनुसन्धान शुरु गरेका छौँ ।’ यता आरोपितहरूलाई सम्पर्क गर्नका लागि उनका आफन्तमार्फत् बुझ्ने प्रयास गर्दा पनि फोन सम्पर्क पत्ता लाग्न सकेन ।