धरान/ लकडाउन घोषणा गर्ने विषयमा धरान उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला विपद् व्यवस्थापन समितिबीच तालमेल अभाव देखिएको छ ।

कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रशासन तथा विपद् व्यवस्थापन समितिले सुनसरीमा भदौ १४ गते मध्यरातिसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । तर धरान उपमहानगरको कार्यपालिकाको बुधबार बसेको बैठकले सात दिन थप्दै भदौ १७ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।

सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले भने, ‘सुनसरीका सबै स्थानीय तहसँग समन्वय गरेरै लकडाउन र निषेधित क्षेत्र घोषणा गरेको हो । तर धरानमा सात दिन थपिएको बारे मलाई कुनै जानकारी छैन ।’ उनले कुनै पनि स्थानीय तहले लकडाउन वा निषेधित क्षेत्र घोषणा गर्नका लागि जिल्ला प्रशासन र विपद् व्यवस्थापन समितिसँग समन्वय अनिवार्य गर्नै पर्ने बताए । जिल्ला प्रशासन र स्थानीय तहबीच लकडाउनको समयतालिका तालमेल नहुँदा सर्वसाधारणले अनावश्यक सास्ती खेप्नु पर्ने हुन्छ ।

धरान उपमहानगरले साउन २२ गतेदेखि लकडाउन गरेको एक सातापछि मात्र जिल्ला प्रशासनले सुनसरीलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । प्रजिअ पोखरेलले भने, ‘जिल्लाले सबैसँग समन्वय गरेरै निषेधित क्षेत्र घोषणा गरेको हो । अब भदौ १४ पछि पनि कोरोना सङ्क्रमणको अवस्थालाई हेरेर निषेधित क्षेत्र घोषणालाई निरन्तरता दिन समय थप्ने वा मापदण्ड बनाएर खुलाउने त्यसको विषयमा छलफल गर्नेछौं ।’

धरान उपमहानगरका मेयर तिलक राईले पनि जिल्लासँग समन्वय गरेर नै धरानमा थप सात दिनको लकडाउनलाई निरन्तरता दिएको बताए । उनले भने, ‘कोरोनाको समयमा समन्वय त गरिरहेकै छौं । जिल्लाले भदौ १४ गतेसम्म निषेधित क्षेत्र घोषणा गरे पनि हामीले भने पहिलेकै लकडाउनलाई निरन्तरता दिँदै भदौ १७ सम्म पुर्याएका हौं ।’

सुनसरीमा बुधबारमात्र २३ जना सङ्क्रमित थपिएका छन् । थपिएका सहित ५ सय ८ जना सङ्क्रमितको सङ्ख्या पुगेको छ । पछिल्लो समयमा इटहरी उपमहानगरपालिकामा १४ जना, इनरुवामा ४ जना, बर्जुमा ३ जना र धरानमा १ जना सङ्क्रमित थपिएका हुन् ।