ब्लाष्टखबर । बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा विभिन्न समस्यालाई लिएर आन्दाेलनरत प्रतिष्ठानमा कार्यरत नर्सिङ स्टाफकाे समस्या समामधानकालागी ५ सदस्यीय समिति गठन भएकाे छ ।
अस्पताल निर्देशक डा. गैरीशंकर साहकाे संयाेजनमा समितिमा मेट्रोन उपेन्द्र यादव, कर्मचारी प्रशासनका उमेश कोइराला, नर्सिङ स्टाफहरुकोतर्फबाट सफला बुढाथोकी र रमा बस्नेतसहितकाे समिति गठन भएकाे प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले बताएका छन् ।
उनका अनुसार समितिले आन्दोलनरत नर्सिङ स्टाफहरुको समस्या सामधानकाे सुझाव सहित मार्गदर्शन दिने गरी एक हप्ताभित्र रिपाेर्ट बुझाउने छन् । साेहि सुझावका आधारमा उनिहरूकाे माग सम्बाेधन गरिने बताएका छन् । उनले भने ' तत्काल गर्न सकिने समस्याहरूकाे सामधान गर्न उपकुलपति प्रतिबद्ध हुनुहुन्छ । समितिले सुझाव संकलन गर्न सुरू गरी सकेकाे छ । '
विभिन्न विभागमा काेराेना संक्रमित देखिएपछि प्रतिष्ठान भित्र फ्रन्टलाइनमा काम गर्ने नर्सहरू जाेखिम बढेकाे भन्दै पिपिई, पर्याप्त मास्क र पञ्जा उपलव्ध गराउन तथा सरकारले दिएकाे सेवा सुविधाहरू तत्काल दिइनुपर्ने जस्ता १६ बुँदे मागसहित आन्दाेलनरत छन् ।
उनिहरूले हिजाे अस्पताल निर्देशकलाई ज्ञापन पत्र बुझाएका थिए । आज बिहानपनि उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई ज्ञापन पत्र बुझाएका छन् । साेहि क्रममा उपकुलपतिसहित प्रतिष्ठानका पदाधिकारी र आन्दोलनरत नर्सहरुका १३ जना प्रतिनिधिहरुकाे सहभागीतामा छलफल भएकाे थियाे ।
हालसम्म प्रतिष्ठानमा कार्यरत १९ जना चिकित्सक, नर्स तथा कर्मचारीमा काेराेना संक्रमण पुष्टि भएकाे छ । जसमा ३ जना चिकित्सक, २ जना विद्यार्थी, १ जना ल्याव टेक्निसियन, १ जना हेल्थ एड र बाँकी १२ जना नर्सहरू रहेका प्रवक्ता सापकोटाले बताएका छन् । संक्रमित नर्सहरू बालराेग र स्त्रि तथा प्रसुती विभागका रहेका छन् भने , चिकित्सकहरू नाक, कान घाटि र वायाेक्यामेस्ट्रीका रहेका छन् ।
आज मात्रै १ जना इर्मजेन्सीमा कार्यरत हेल्थ एडकी २८ बर्षीया छोरीलाई संक्रमण पुष्टि भएकाे छ । प्रतिष्ठानमा कार्यरत चिकित्सक, नर्स तथा कर्मचारीकाे परिवारमा ७ जनामा संक्रमण देखिएकाे छ । उनिहरूकाे सम्पर्कमा आएका करिब ५० जनाकाे स्वाब लिइएकाे प्रतिष्ठान स्राेतले बताएकाे छ ।
नर्सहरूले वार्ड, आइसियु, डाइलाइसिसलगायत ठाउँमा उपचाररत विरामीहरु कोरोना संक्रमित पुष्टि भएपछि उपचारमा संलग्नहरुलाई क्वारेन्टिनको व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।