धरान । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का विधायक महेश सिंह नेगीविरुद्ध एक महिलाले बलात्कारको आरोप लगाउँदै प्रहरीमा निवेदन दिएकी छन् ।

ती महिलाले विधायक नेगीको डिएनए परीक्षण गराउनसम्म माग गरेकी छन् । उनले आफूसँग रहेको बच्चाको पिता नेगी रहेको पुष्टि गर्नका लागि डिएनए परीक्षण गर्न माग गरेकी हुन् । भारतको उत्तराखण्डको राजधानी देहरादुनकी ती महिलाले नेगीविरुद्ध बलात्कारको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी हुन् । नेगी अल्मोडा जिल्लाको द्वाराहाटबाट भाजपाको विधायक बनेका थिए । तर, उनले आफूविरुद्ध लागेको आरोप झुटो र आधारहीन रहेको दाबी गरेका छन् ।

भारतीय मिडिया दी वायरका अनुसार १६ अगस्टका दिन महिलाले प्रहरीमा उजुरी दर्ता गराएकी हुन् । उजुरी दर्ता गर्नुभन्दा दुई दिनअघि विधायकका पत्नीले आफूमाथि बलात्कारको झुटो आरोप दर्ता गराउँदै पाँच करोड रुपैयाँ असूल्ने नियत राखेको भन्दै धम्की दिएको उनले बताइन् । विधायकका पत्नीले बलात्कारको आरोप लगाउने महिला, उनको पति, आमा र नन्दविरुद्ध आइपीसीको धारा ३८६ (हत्या वा गम्भीर आघात पर्ने किसिमको आरोप लगाएर जवर्जस्ती असूली गर्न खोजेको) र ३८९ (जवर्जस्ती असूली गर्नका लागि कोही व्यक्तिमाथि अपराधको आरोप लगाउने) मा मुद्दा दर्ता गरेकी थिइन् ।

देहरादूनका डिआइजी अरुण मोहन जोशीले आरोपित महिला र विधायकका पत्नीले लगाएको दुवै मुद्दाविरुद्धमा जाँच गरिने बताए । ती महिलाले विधायक नेगीले आफूलाई सन् २०१८ मा विवाह गर्नुभन्दा दुई दिन अगाडि एक होटलमा लगेर बलात्कार गरेको र कतै नभन्न भन्दै धम्की दिएको आरोप लगाएकी छन् । त्यहीँ वर्ष महिलाले बच्चा जन्माएकी थिइन् ।