बेलबारी ।  मोरङको सुन्दरहरैंचा–५ लाटीझोडामा किरियापुत्री बसेका अधिकारी परिवारमाथि आक्रमण भएको छ ।
साउन २५ गते मध्यरातिको समयमा स्थानीय ६ जना युवाहरूको समूहले किरियापुत्री बसेकै घरमा पुगेर कुटपिट गरेको हो ।

मराउ भएको घरमा आएका भाञ्जा पर्ने इटहरीका सुरज आचार्यलाई कुटपिट गरिरहेको देखेपछि कुटपिट नगर्न भन्दा किरियापुत्री बसेका खड्गकुमारी र टेकनाथमाथि नै आक्रमण गरेको पाइएको छ ।

रातिको समयमा किरियापुत्री रुङ्न आएका अन्य छिमेकीहरू फर्किसकेको अवस्थामा शुरुमा भाञ्जा साइनो पर्ने सुरज आचार्यमाथि कुटपिट भएको र केहीबेरमा अधिकारी परिवारले थाहा पाएर रोक्न खोज्दा किरियापुत्री बसेकाहरूमाथि नै दाउरा तथा कुर्र्सीले आक्रमण गरेको प्रत्यक्षदर्शी लक्ष्मीप्रसाद सुवेदीले बताए ।

कुटपिटबाट घाइते भएका सुरजको हाल विराटनगरमा उपचार भइरहेको छ । यस्तै कुटपिटबाट खड्गकुमारीको आँखाको डिलमा चोट लागेको छ भने टेकनाथको टाउकोमा चोट लागेको छ ।

कुटपिटमा संलग्नहरू स्थानीय रामबहादुर तामाङ, दोर्जे मगर, विशाल राई, दीपेन राई, भाइसन तामाङ, विशाल शाक्यलगायत ६ जना रहेको पीडित टेकनाथले बताए । उनीहरूले आफूहरूलाई कुटपिट गर्नुका साथै मार्ने धम्कीसमेत दिएर हिँडेको उनको भनाइ छ । पीडित परिवारले आफूहरूले गछिया प्रहरी चौकीमा उजुरी दिएको बताउँदै दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

श्रीलाल अधिकारीको गत साउन २१ गते निधन भएपछि कोरामा बसिरहेका उनका कान्छा छोरा र माहिली बुहारीमाथि सातौं दिन राति कुटपिट भएको हो । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले कुटपिटमा संलग्नहरूको खोजी भइरहेको जानकारी दिएका छन् ।