यासोक / पछिल्लो समय सरकारले फुसको छानो हटाउने नीति लिएको छ । तीनै तहका सरकारले फुसको छानो हटाउने अभियान अघि बढाएका छन् ।

यसै अभियानलाई निरन्तरता दिँदै पाँचथरको कुम्मायक गाउँपालिकाले पनि फुसको छानो विस्थापित गर्ने नीति लिएको छ । गाउँपालिकाका ३ हजार बढी घरधुरीमध्ये ६५ प्रतिशत घरधुरीले जस्ताको छानो लगाएका छन् ।

बाँकी रहेका घरधुरीलाई जस्तापाता वितरण गरी गाउँपालिकालाई फुसको छानोमुक्त बनाउने अभियानलाई अघि बढाइएको हो । गाउँपालिकाको अभियानबाट निःशुल्क जस्तापाता पाएपछि स्थानीयवासी पनि हर्षित भएका छन् । घर छाउने खरको अभाव भएको बेला निःशुल्क जस्तापाता पाउँदा खुसी लागेको स्थानीय गणेश नेपालीले बताए ।

गाउँपालिकाले गत आर्थिक वर्षमा ३ सय १९ घरधुरीलाई जस्तापाता वितरण गरेको छ । जसमध्ये कार्यालयको ४२ लाख रकमबाट २ सय ७, सङ्घीय सरकारले आवास सुरक्षा कार्यक्रम अन्तर्गत ४० घरधुरी, प्रदेश सरकारको १६ र वडाको ५६ गरी ३ सय १९ घरधुरीलाई जस्तापाता वितरण गरिएको हो ।

गाउँपालिकाको ५ वटा वडामध्ये सबैभन्दा बढी १ नम्बर वडाले ६८ घरधुरीलाई जस्तापाता निःशुल्क वितरण गरेको बताएको छ । आदिवासी जनजाति, दलित, विपन्न समुदायलाई लक्षित गर्दै वडाले जस्तापाता वितरण गरेको वडाध्यक्ष देवेन्द्रकुमार लावतीले बताए । गाउँपालिका र सङ्घीय सरकारको फुसको छानो हटाउने अभियानलाई साथ दिन वडामा ठुलो सङ्ख्यामा जस्तापाता वितरण गरिएको अध्यक्ष लावतीले बताए ।

खरको छानो विस्थापित गरी टिनको छाना छाउने अभियानलाई वडाले पनि आफ्नो बजेटमा समावेश गर्दै आएका छन् । वडानम्बर ५ र ३ ले गत आर्थिक वर्षमा ५६ घरधुरीलाई जस्तापाता वितरण गरेका थिए । योसँगै आर्थिक वर्ष २०७६÷०७७ मा ३ सय १९ घरधुरीमा पूर्णरूपमा फुसको छानो हटेको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।

फुसको छानोमुक्त गाउँपालिका घोषणा गर्न आर्थिक वर्ष २०७७/०७८ मा शहरी विकास मन्त्रालयले ५ सय ९७ घरधुरीलाई जस्तापाता वितरण गर्न लागेको छ । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत फुसको छानो हटाउन प्रतिघरधुरी ५० हजारको दरले रकम उपलब्ध गराउने गरी तयारी अघि बढाइएको छ । बाँकी रहेका घरधुरीलाई वडा र गाउँपालिकाले बजेट विनियोजन गरेर फुसको छानो हटाउने अध्यक्ष चेम्जोङले बताए । यसले पनि गाउँपालिकाको अभियानलाई ठूलो सहयोग पु¥याउने गाउँपालिकाले जनाएको छ ।