विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेललाई कुटपिट गरेको आरोपमा पक्राउ परेका दुई जना महिला कर्मचारीहरू १६ हजार रुपैयाँ धरौटिमा छुटेका छन् ।

सञ्जेललाई कुटपिट गरेको आरोपमा पक्राउ परेका नेत्र कुमारी भट्टराई र मेनुका कोइराला जनही ८/८ हजार धरौटिमा मंगलबार छुटेका हुन् ।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी कोष हरी निरौलाको इजालशले पक्राउ परेका महिला कर्मचारीहरूलाई धरौटिमा छोडन आदेश दिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता धुव्र बहादुर खड्काले जानकारी दिए । प्रशानले धरौटिमा छोडन आदेश दिएपछि धरौटि रकम बुझाए उनीहरू छुटेका छन् ।

आफनै कार्यालयका कार्यालय सहयोगी दुई जना महिला कर्मचारीले साउन १७ गते शनिबार सञ्जेललाई कुटपिट गरेका थिए । सञ्जेललाई कुटपिट गरेको आरोपमा पक्राउ परेका नेत्र कुमारी र मेनुकालाई पहिलो पटक जिल्ला प्रशासन कार्यालय मोरङमा आइतबार ‘अभद्र व्यवहारको मुद्दा’ मा म्याद थप गरि मोरङ प्रहरीले अनुसन्धान सुरू गरेको थियो ।

प्रहरीले पहिलो पटक थप गरेको अनुसन्धान पूरा नभएपछि गत बिहीबार दोस्रो पटक पुनः पाँच दिनको म्याथ गरि अनुसन्धान गरेको थियो ।

यता दुई महिला कर्मचारीहरूले सञ्जेलले सहन नसक्ने गरि अपशब्द बोलेर दुव्र्यवहार गरेको, अनावश्यक रुपमा काममा पेलाउने र जिम्मामै नभएको वस्तुको सुरक्षामाथि प्रश्न उठाएको आरोप लगाउँदै कुटपिट गरेको बताउने गरेका छन् ।

उनीहरूले सञ्जेललाई टेबुलमाथि राखेको पेपर वेटको डल्लो, नेम प्लेट र पञ्चिङ मेसिन प्रहार गरेका थिए । कुटपिटबाट सञ्जेलको निधार, ओठ र हातमा चोट पटक लागेको थियो ।