मधुमल्ला । मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं. ७ निवासी अन्दाजी ६० बर्षीय इन्द्र बहादुर लम्साल जंगली हात्तीको आक्रमणमा परि गम्भिर घाइते भएकाछन । बुधबार बिहान करिब १० बजे मावा नुनसरी सामुदायिक वनमा घांस काट्न गएका वृद्ध लम्साललाई जंगली हात्तीले लसार पसार पारी घाइते बनाएको बताईएको छ ।

हात्तीले लसार पसार पार्दा लम्सालले चिच्याएर काराएको र वरपर घांस काटन आउनेले थाहा पाई प्रहरीलाई खबर गरेको बताइएको छ । हात्तीको आक्रमणमापरि वृद्ध लम्सालको टाउको, ढाड र खुट्टामा चोट लागेको इलाका प्रहरी कार्यालय मधुमल्लाका कार्यालय प्रमुख रामकाजी कटुवालले बताए । घटना घटे लगत्तै इप्रका मधुमल्ला र स्थानीय सहितको टोलीले लम्सालको उद्धार गरेको थियो ।

हात्तीको आक्रमणमा परि घाइते भएका लम्सालको साझा हेल्थ केयर मधुमल्लामा उपचार हुन नसके पछी अरनीको अस्पताल उर्लाबारी रेफर गरेको साझा हेल्थ केयरका इमरजेन्सी इन्चार्ज  राजन शाहाले बताए । लम्सालको अरनीको अस्पताल उर्लाबारीमा पनी उपचार सम्भव नभएकाले बिराट नर्शिङ होम बिराटनगर पठाईएको बताइएको छ । यस अघी पनी मिक्लाजुङ क्षेत्रमा जंगली हात्तीले पटक पटक उपद्रो मच्चाउँदै आएको स्थानीय प्रवेश कुवंरले बताए ।