भोजपुर । जिल्लाको रामप्रसाद राई गाउँपालिका –४ दलगाउँकी ७२ बर्षीय बृद्धा हिरा राईलाई नागरिकता वितरण गरिएको छ । राईलाई बंशजको आधारमा मंगलबार नेपाली नागरिकता वितरण गरिएको हो । वडा कार्यालयको फिरारिसमा राईलाई नागरिता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए ।
प्रजिअ पुरीले भने “बृद्धा अवस्थामा नागरिकता नभएको कारण राज्यको सेवा सुविधाबाट बञ्चित भएको थाहा पाएपछि नागरिकता वितरण गरिएको हो, अव उहाँलाई राज्यबाट पाउने सेवा सुविधा लिने बाटो खुलेको छ ।”
जिल्लाको टेम्केमैयुङ गाउँपालिका –८ गोगेने माईती भई स्थायी रुपमा दलगाउँ बस्दै आएकी ७२ बर्षिय राई नागरिकता पाए पछि खुसी भएकी छिन । नागरिकता पाए पछि सामाजिक सुरक्षा भत्ता लगायतका सेवा पाउने भन्दै उनि खुसी भएकी हुन ।
नागरिकता हातमा लिदै उनले भनिन “अब मैले पनि बुढो भत्ता पाउने भए , नागरिकता दिने नानीहरुलाई आर्शिवाद छ ।” श्रीमानको २०४७ सालमा मृत्यु भए पछि हाल उनी एकलै बस्दै आएकी छिन् ।