उर्लाबारी/ एउटै जग्गा देखाएर दुई जनासँग बैना (अग्रिम रकम) लिएर जग्गा पास नगरेको आरोपमा उर्लाबारीका एक युवालाई प्रहरीले पक्राउ गरी ठगी मुद्दामा कारबाही चलाएको छ ।
उर्लाबारी–४ का ३९ वर्षीय सुन्दर सम्बाहाङ्फेले उर्लाबारी नगरपालिका नजिकै रहेको ३ कठ्ठा जमिन देखाएर डम्बर खनालसँग २५ लाख र महेशकुमार प्रधानसँग ५ लाख लिएर जग्गा पास नगरेको आरोपमा उनलाई आइतबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर सुवास राईले बताएका छन् ।
सम्बाहाङ्फेले खनाल र प्रधानसँग दुई वर्षअघि अलग–अलग किसिमबाट एउटै जग्गा देखाएर पास गरिदिने सर्तमा बैना बापत पैसा लिएर पटक–पटक जग्गा पास गर्न आग्रह गर्दासमेत वास्ता नगरेपछि जिल्ला सरकारी वकिलको कार्यालयमा ठगी मुद्दा दर्ता गराएपश्चात् प्रहरीले पक्राउ गरेको पीडित प्रधानले बताए ।