• दिनेश सुब्बा

पथरी / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) संघीय समितिको अध्यक्ष डण्ड गुरुङले कोरोना भाइरस प्रभावित सञ्चार क्षेत्रका लागि राज्यले विशेष प्याकेज ल्याउनु पर्ने बताएका छन् ।

मंगलबार फोनिजको २१ औं स्थापना दिवसको अवसरमा ‘कोरोना भाइसरको कारण प्रदेश नम्बर १ मा पत्रकारिता क्षेत्रमा परेको प्रभाव’ बिषयक अन्तरक्र्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले सो कुरा बताएका हुन । अन्तक्र्रिया कार्यक्रम ‘जुम प्रविधि’बाट १ नम्बर प्रदेश समितिद्वारा आयोजना गरिएको थियो ।

गुरुङले कोरोना भाइरस र लकडाउनको कारण सञ्चार क्षेत्रमा नकारात्मक असर परे पनि राज्यले सञ्चार क्षेत्रको समस्याबारे वेवास्ता गरेको उनको भनाई छ । सुरक्षा र स्वास्थ्य कर्ममा खट्ने व्यक्तिहरुलाई सहयोग गरे पनि सञ्चार क्षेत्रलाई तीनै तहको सरकारले खास वास्ता नगरेको बताए । देश परिवर्तनको लागि सञ्चार क्षेत्रबाट सरकारको नेतृत्व गरिरहेका नेताहरु भन्दा कम भूमिका नरहे पनि संक्रमणको वेला राज्यकोे विशेष प्याकेज ल्याउनु पर्ने बताएका हुन ।

अध्यक्ष गुरुङले ठूला मिडिया हाउसहरुको कडा रुपमा विरोध गर्दै ‘स्वकल बिग हाउस’ले सञ्चार कर्मी र यो क्षेत्रमा चरम शोषण गरिरहेको आरोप लगाए । ‘बिग’ हाउसकै कारण समानुपातिक विज्ञापन प्रणाली लागू हुन नसकेको आरोप लगाउदै नेपाल पत्रकार महासंघ र आदिबासी पत्रकार महासंघ मिलेर यस विरुद्ध लाग्नु पर्ने बताए ।

केही ब्यक्ति र समूह मिडिया हाउस सञ्चालकलाई बद्नाम गराउन लागि परेको आरोप लगाउदै पत्रकारहरुलाई जुनसुकै प्रकारको समस्या भए उजुरी गर्न र त्यसको लागि आफूहरु सहयोग गर्न तयार रहेको उनको भनाई थियो । गुरुङले कोरोनाको कारण देश संक्रमणमा फसेको बेला पत्रकार महासंघले सदस्यता शूल्क छुट गर्नुको साथै नविकरण र नयाँ सदस्यताको लागि आवेदनको मिति बढाइनु पर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व प्रदेश संयोजक तथा ब्लाष्ट टाइम्स दैनिकका प्रबन्ध निर्देशक / सम्पादक किशोर कुमार कार्कीले सरकारले ध्यान नदिएर कोरोना भाइरसको कारण भएको लकडाउनले सञ्चार माध्यम बन्द हुने अवसस्थामा पुगेको बताए । लामो लकडाउनको कारण बिज्ञापन लगायतको श्रोत घटेको कारण मिडिया हाउसहरु धारासायी बन्दै गएको कार्कीले बताए । मिडियाको लागि युरोप, अमेरिकातिर सरकारले राहत स्वरुप कार्यक्रम ल्याए पनि नेपालमा कहिबाट केही नभएको सम्पादक कार्कीको भनाइछ ।

मिडिया हाउसहरु बचाउन सस्तो व्याजमा ऋण, स्थानीय तहहरुबाट विज्ञापनको फ्लो बढाउने लगायतको योजना ल्याउनु पर्ने कार्कीले बताए । मिडियाले लोकतन्त्रलाई बचाउन र सरकारले ल्याएको योजना पारदर्शीता कायम गर्न सहयोग गर्ने भएकोले मिडिया बचाउन तीनै तहका सरकारले प्याकेज ल्याउनु पर्ने प्रबन्धक कार्कीले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश कमिटी अध्यक्ष विक्रम लुइटेल, फोनिज १ नम्बर प्रदेश समिति अध्यक्ष अर्जुन जम्नेली राईले समाचारको बिषयबस्तु, न्युज रुम र श्रमिकहरु हरेक मिडिया हाउसमा समावेशी हुनुपर्ने बताएका थिए । कार्यक्रममा संघीय सल्लाहकार संजयसन्तोषी राई सहभागि रहेको कार्यक्रममा सचिव मिलन लिम्बू, प्रदेशको सल्लाहकार संयोजक जनकऋषी राई, प्रदेश इन्चार्ज दिपिन राईलगायतले शुभकामना व्यक्ति गरेका थिए । प्रदेश समितिको पदाधिकारी सदस्यहरु, विभिन्न जिल्लाका अध्यक्ष लगायत करिव ५० जना पत्रकारहरु सहभागिता रहेको थियो ।