इटहरी/ स्थानीय सरकारले गरेको लकडाउनका कारण इटहरी बजारमा ताजा तरकारी पाइन छाडेको छ । पूर्वी पहाडी जिल्लाबाट धरान हुँदै इटहरी तथा अन्य शहरमा भित्रिने तरकारी आउन छाडेको र स्थानीय बजारमा तरकारी नपाउँदा समस्या भएको उपभोक्ताको गुनासो छ ।
इटहरीको जनता क्याम्पस पढाउँदै आएका विष्णु कार्कीले दोस्रो लकडाउनमा ताजा तरकारी खान नपाएको गुनासो गरे । पहिलो लकडाउनमा सफारीमा तरकारी घर–घर आए पनि अहिले तरकारी नपाउँदा समस्या भएको उनी बताउँछन् । ‘तरकारी नहुँदा समस्या भयो, दोस्रो लकडाउनमा पनि तरकारी बेच्न पाउने वातावरण मिलाउनु पर्यो’ –उनले भने ।
इटहरी बजारकी गङ्गा गुरुङले बाहिरबाट आयात हुने तरकारी पाउन छाडेपछि अहिले समस्या भएको बताइन् । बजारमा तरकारी पाइन छाडेपछि अधिकांशले अन्य तरकारी खान थालेका छन् । ५ दिनसम्म बजारमा केही पसल नखुल्दा हाटबजारको पर्खाइमा बस्ने उपभोक्तालाई समस्या हुन थालेको गुरुङ बताउँछिन् ।
तरकारी हारालुछ
सुनसरीका अधिकांश स्थानीय तहमा लकडाउन भएसँगै बजारमा हरियो तरकारीको अभाव भएको छ । किसानले उत्पादन गरेका तरकारी बजारसम्म लैजान नपाए पनि गाउँघरमै बिक्री गर्ने गरेका छन् । गाउँघरमा उत्पादन भएको तरकारीले बजार धान्न नसक्ने हुँदा अहिले तरकारी पसलमा हारालुछ हुन थालेको छ ।
बजारमा हरियो तरकारी देखिनासाथ हारालुछ हुने गरेको छ । पाँच दिनकै बन्दमा तरकारी पसलहरूमा तरकारी अभाव भएको इटहरी–२० तरहराकी गोमा अधिकारी बताउँछिन् । अहिले हरियो तरकारी खान नपाएको उनको गुनासो छ ।
इटहरीको आइतबारेमा तरकारी बजार सञ्चालन गर्दै आएकी एक महिलाले प्रशासनले दोकान बन्द गराएका कारण तरकारी बेच्न नपाएको बताइन् । लुकीछिपी दोकान खुले पनि अहिले ग्राहकले भीडभाड गर्दा समस्या भएको उनको भनाइ छ ।
तरकारी पसल के गर्ने भन्ने बारे अन्योलः उपमेयर
इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले तरकारी पसल सञ्चालन बारे केही निर्णय नभएको बताएकी छन् । अहिले बजारमा तरकारी पसल बन्द हुँदा समस्या भएको उनको भनाइ छ । ‘केही दिन अघिसम्म तरकारी पसलहरूमा रातभरि भीड हुने गरेको स्थानीयले आरोप लगाएका थिए’ –उपमेयर गौतमले भनिन् ।
केही दिन अगाडिसम्म तरकारी बजारमा भारत तथा अन्य पहाडी जिल्लाबाट तरकारी ल्याउँदा रातभर स्थानीयहरू सुत्न नपाएको गुनासोसमेत आएको उपमेयर गौतमको भनाइ छ । सामाजिक दूरीसमेत कायम नगर्दा बजारमा तरकारी पसलहरू कोरोनाको उच्च जोखिममा रहेको उपमेयर गौतमले बताइन् ।