धरान/ हङ्कङमा कट्टर लोकतन्त्रका पक्षधर मिडिया मालिक पक्राउ परेका छन् ।

साउथ चाइना मर्निङ पोष्टका अनुसार बेइजिङले हालै जारी गरेको नयाँ राष्ट्रिय सुरक्षा कानून अन्तर्गत जिमी लाइलाई पक्राउ गरिएको हो । उनले प्रकाशन गर्दै आएको एप्पल डेलीमा प्रहरीले छापा मारेर उनलाई भने आफ्नै निवासबाट पक्राउ गरेको जनाइएको छ ।

पत्रिकाको कार्यालयमा छापा मारेर उनका दुई छोरा तथा मिडियामा सम्बद्ध ४ जना अधिकारीसहित ८ जनालाई नियन्त्रणमा लिइएको छ । जेठा छोरा ४२ वर्षीय तिमोथी लाइ र ३९ वर्षीय लान लाइलाई नियन्त्रणमा लिइएको हो ।

तर पत्रकारहरूलाई भने पक्राउ गरिएको छैन । उक्त पत्रिकालाई लोकतन्त्रको पक्षधर रहेको बताइन्छ । पत्रिकामा छापा मार्नका लागि करिब २ सय प्रहरी परिचालित रहेका थिए । मिडिया मालिक पक्राउ परेलगत्तै उक्त घटनालाई ‘प्रेस स्वतन्त्रता आधिकारिक रूपमा मरेको दिन’ को संज्ञा दिएका छन् ।

७१ वर्षीय उनमाथि ‘विदेशी सेनासँगको मिलोमतो र धोकाधडी’ गरेको आरोपमा पक्राउ गरिएको जनाइएको छ । बेइजिङले देशद्रोह र पृथकतावादी गतिविधि तथा विदेशी सेनासँगको मिलोमतोलाई गैरकानूनी बनाउने गरी राष्ट्रिय सुरक्षा कानून लागू गरेको छ ।

बेलायती नागरिकसमेत रहेका जिमी नयाँ कानून अन्तर्गत पक्राउ पर्ने हङ्कङका सबैभन्दा उच्च व्यक्ति भएको बताइन्छ । विदेशीसँग मिलोमतो गरेको अभियोग प्रमाणित भएमा उनलाई तीनदेखि १० वर्षसम्मको कैद सजाय हुने वा आजीवन कारावास भोग्नुपर्ने हुन सक्ने उल्लेख गरिएको छ ।