पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरका जनप्रतिनिधि, पत्रकार, सामुदायिक वनका पदाधिकारी तथा समाजसेवीहरुले आइतबार कोरोना भाइरसको पिसीआर परीक्षणका लागि स्वाब दिएका छन् ।

नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना बिष्ट बास्तोला, नगर प्रवक्ता यामप्रसाद गुरागाईं सहित वडाध्यक्ष, कार्यपालिका सदस्य सहितका जनप्रतिनिधिसहित एक कार्यक्रममा सहभागिहरुको पथरी नगर अस्पतालका स्वास्थ्यकर्मीमार्फत स्वाब निकालेर कोरोना परीक्षणका लागि पठाइएको छ ।

गत साउन १७ गते जिल्ला वन कार्यालयका प्रमुख विशाल घिमिरे सहितको टोली पथरी शनिश्चरे र लेटाङमा बैज्ञानिक बन सम्वन्धी कार्यक्रममा सहभागि भएको थियो । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति, वैज्ञानिक वन व्यवस्थापनको अध्ययन कार्यदलले पथरीशनिश्चरेको हरियाली सामुदायिक वनमा अध्ययन, अवलोकन गरेका छन् । त्यसपछि वनको सभाहलमा समितिका संयोजक सांसद पूर्णकुमारी सुवेदीको अध्यक्षताको कार्यक्रममा सुझाब संकलन गएको थियो । समितिका सदस्य सांसदहरु धनश्याम भण्डारी, शान्ता चौधरी, चन्द्राकान्त चौधरी, राजवहादुर बुढाथोकी र शान्तिमाया तामाङ पाख्रिन लगायत उपस्थित भएका थिए ।

टोलीका घिमिरेलाई साउन २१ गते कोरोना पोजेटिभ देखिएको छ । पथरीको हरियाली सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा भएको सो कार्यक्रममा घिमिरेसँगै सहभागि भएका जनप्रतिनिधि, वन समितिका पदाधिकारी, समाजसेवी, पत्रकारहरुको कन्ट्याक ट्रेसिङका आधारमा ७५ जनाको स्वाब परीक्षणका लागि पठाइएको हो । जसमा ८ जना पत्रकार रहेका छन् । स्वाब प्रदेश १ को कोभिड प्रयोगशाला विराटनगर पठाइएको छ ।

पथरी बहुमुखी क्याम्पसमा नगरले खडा गरेको क्वारेन्टिनमा बसेकामध्ये २० जनाको पनि आइतबार नै स्वाब संकलन गरि पठाइएको छ । नगर प्रमुख राई, उपप्रमुख वास्तोला सहितका केही जनप्रतिनिधि र कर्मचारीको यस अघि गरेको परीक्षणमा कसैमा कोरोना देखिएको छैन ।

साउन २३ गते रातीदेखि दोस्रो पटक लकडाउन सुरु भएको पथरीशनिश्चरेमा यसअघि ५ जनामा कोरोना देखिएपनि सवैजना निको भएर घर फर्किएका छन् । नगरमा साउन २३ ( शुक्रबार ) राती १२ बजेदेखि साउन ३२ गतेसम्मलाई बन्दाबन्दी (लकडाउन) गरिएको छ ।

पथरी शनिश्चरे नगर कार्यपालिका र कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिको संयुक्त बैठकले त्यस्तो निर्णय गरेपछि नगरपालिका कार्यालय र वडा कार्यालयका प्रशासनिक कामसमेत वन्द गरिएको छ ।

नगर प्रमुख तथा कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिका संयोजक दिलीपकुमार राईले लकडाउनको समयमा घरबाहिर ननिस्किइ आफु पनि बाँच्न र अरुलाई बचाउन आव्हान गरेका छन् ।

नगर प्रमुख राईको अध्यक्षताको बैठकले लकडाउनको समयमा अत्यावश्यकीय खाद्यान्न, सागसब्जी, फलफुल, दुग्धजन्य पदार्थ विहान ६ बजेदेखि विहान ९ बजेसम्म मात्र खुला राख्ने निर्णय अनुरुप आज विहान त्यसखाले पसल मात्र खुला भएका छन् । जसमा, कम्तिमा डेढ मिटरको सामाजिक दूरी कायम गरी अनिवार्य रुपमा मास्क लगाउनु पर्ने, साबुनपानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ । निश्चित समयावधिमा खुला गर्ने भनिएका बाहेकका अन्य बजार तथा पसल भनें पूर्णरुपमा वन्द रहने छन् ।

साथै अस्पताल, क्लिनिक, औषधि पसल, एम्बुलेन्स, सववाहन, पानी बोक्ने गाडी भनें खुला नै रहने निर्णय भएको छ । नगरपालिका कार्यालय, वडा कार्यालय सहित सरकारी तथा गैरसरकारी कार्यालय, यातायातका सम्पूर्ण साधन र बैंक तथा वित्तीय संस्था वन्द गरिएका छन् ,

कोरोना संक्रमण हुन नदिन छुट्टै क्वारेन्टिन रहेको र आवश्यक परेको खण्डमा नगरले अस्पतालमा आइसोलेसनको व्यवस्था समेत गर्ने भएको छ । हालसम्म वन्द नै रहन सरकारले सूचित गरेका शैक्षिक संस्था, होटल, रेष्टुरेन्ट, लज, जिमखाना, व्यूटिपार्लर, फिल्म हल, धार्मिक तथा पर्यटकीयस्थलहरु पूर्ण वन्द नै राख्नु पर्ने निर्णय अनुरुप बन्द नै छन् ।

लकडाउनको समयमा ७० वर्षमाथिका ज्येष्ठ र १२ वर्षमुनीका बालबालिकालाई घर बाहिर ननिस्किन विशेष अनुरोध समेत गरिएको छ । लकडाउनको उल्लंघन गर्ने र मास्क नलाउनेलाई प्रहरीले जरिवाना समेत गर्ने प्रहरीको परिपत्र छ ।