उर्लाबारी/ दुई महिनादेखि उर्लाबारी–३ स्थित मङ्गलबारे अस्पतालको नाम परिवर्तनको विरोध जनाउँदै प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेससहितका चार राजनीतिक दलद्वारा जारी अनिश्चितकालीन आन्दोलन अन्ततः स्थगित भएको छ ।
मङ्गलबारे अस्पताल संयुक्त सङ्घर्ष समितिले शुक्रबार प्रेस विज्ञप्तिमार्फत् विश्वभर फैलिएको कोरोना भाइरस मोरङका विभिन्न स्थानका समुदायमा फैलिएकोले जेष्ठ २६ गते देखि जारी आन्दोलनलाई प्रतिकुल समय सम्मको लागि स्थगित गरीएको उल्लेख गरीएको छ । समितिका संयोजक तथा नेपाली कांग्रेसका नगर सभापति वीरबल थापाले प्रतिकूल समय र प्रदेश सरकारले आन्दोलनप्रति वास्ता नगरेको बताउँदै कोभिडको नियन्त्रण हुनासाथ तेस्रो चरणको आन्दोलन गर्ने दाबी गरेका छन् ।
प्रदेश १ सरकारले मङ्गलबारे अस्पतालको नाम मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर बनाउने घोषणा गरेपछि त्यसको विरोध गर्दै साविक मङ्गलबारे अस्पतालको नाम परिवर्तन गर्न नहुने माग गर्दै जेठ २६ गतेदेखि विभिन्न चरणका आन्दोलन गर्दै असार ७ गते देखि अस्पतालको गेटनजिकै दैनिक १० बजेदेखि ५ बजेसम्म रिले अनसन बस्दै आएका थिए ।
सङ्घर्ष समितिमा नगरका सत्तारुढ दल नेकपाबाहेकका प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, सङ्घीय लिम्बुवान मञ्चका स्थानीय नेतृत्वसहित स्थानीय अगुवाहरू सहभागी रहेका थिए । आन्दोलनमा समर्थन र ऐक्यबद्धता जनाउन राष्ट्रिय सभा, सङ्घीय संसद्, प्रदेशसभाका सांसद्हरूको सहभागिता रहे तापनि उपलब्धि शून्य रहेको स्वतन्त्र विश्लेषकहरूले टिप्पणी गरेका छन् ।