राजविराज । ३४ जना स्वास्थ्यकर्मी आइसोलेसन र क्वारेण्टिनमा बसेपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको उपचार सेवा शुक्रबारदेखि बन्द भएको छ ।

चिकित्सक र स्वास्थ्यकर्मी नै धमाधम सङ्क्रमित हुन थालेपछि शुक्रबार बिहानदेखि सर्जिकल र आकस्मिक सेवा बन्द गरिएको हो । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. रञ्जित झाले ७ जना स्वास्थ्यकर्मी आइसोलेसनमा र ४ चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी क्वारेण्टिनमा भर्ना भएका कारण सर्जिकल र आकस्मिक सेवा बन्द गरिएको जानकारी दिए ।

‘एनेस्थेटिस्टका डाक्टरसमेत क्वारेण्टिनमा रहेका कारण गाइनोमा पनि शल्यक्रिया सेवा बन्द भएको छ’ डा. झाले भने, ‘बाँकी रहेका ५ जना चिकित्सक र चार जना स्वास्थ्यकर्मी गरी ९ जनाको भरमा अस्पताल कसरी सञ्चालन गर्ने ?’

सात दिनमा ७ जना स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएको र उनीहरूको सम्पर्कमा आएका चार चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी क्वारेण्टिनमा बस्दा जनशक्तिको चरम अभाव भई स्वास्थ्य सेवा प्रभावित भएको डा. झाको भनाइ छ ।

एकातिर स्वास्थ्यकर्मी सङ्क्रमित हुँदै जाने र अर्कोतिर आकस्मिक कक्ष, ओपिडी, इण्डोर र गाइनोका साथै आइसोलेसनमा पनि स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने स्थितिका कारण जनशक्तिको चरम अभाव भएको बताउँदै डा. झाले यसतर्फ प्रदेश र सङ्घीय सरकारबाट आवश्यक पहल हुनुपर्ने आग्रहसमेत गरेका छन् । उपचार सेवा बन्द भएपछि बाहिरबाट उपचारका लागि आएका बिरामीहरू राजविराजमा एम्बुलेन्स बुक गरी धरान, विराटनगरलगायतका स्थानमा उपचारका लागि जान बाध्य भएका छन् ।