भद्रपुर / महिलाको हात छोएको विषयमा विवाद भई कुटपिटबाट हत्या गरी फरार रहेका एक जना अभियुक्तलाई घटना भएको बर्षौपछि प्रहरीले पक्राउ गरेको छ । झापाको साविक जलथल गाविस ८ हाल हल्दीबारी ५ का ४३ वर्षीय दुर्गाबहादुर थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

थापा मगरलाई प्रहरीले साउन २२ गते विहीबार मेचीनगर नगरपालिका १२ शहरेडाँगीस्थित रहेको आफन्तको घरमा लुकिछिपि बसिरहेको अवस्थामा फेला पारिएको जिल्लाका डिएसपी राकेश थापाले जनाए । मगरले टाघनडुब्बा गाविस वडा नं. ४ हाल झापा गाउँपालिका सोही वडाका ४५ वर्षीय बीरिकलाल माझीलाई कुटपिट गर्दा मृत्यु भएको थियो । प्रहरीले मगरलाई शुक्रबार अपरान्ह् पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

यस्तो थियो घटना
२०६० कार्तिक ३० गते छोरीको घर जलथल आएका माझीलाई सामान्य विवादका क्रममा कुटपिट गरी गम्भीर घाइते बनाएर मगर फरार भएका थिए । छोरीको घर आएका माझी साँझ ७ बजेतिर घुम्न निस्कने क्रममा साविक जलथल ८ स्थित मणिकुमार राईको भट्टी पसलमा चुरोट मागेकोमा पसल सञ्चालककी छोरीले चुरोट दिँदा हात समाएको भन्दै विवाद हुँदा पक्राउ परेका थापा र फरार रहेका खेम फुँयल सहितका ३–४ जनाले बिरीकलाल माझीलाई होटलमा भएको विवादकै निहँुमा एक्कासी भुईमा लडाई चिरपट दाउरा र बुटले प्रहार गरी गम्भिर घाईते बनाएका थिए । घाइते माझीको २०६० मङसिर ४ गते उपचारको क्रममा मेची अञ्चल अस्पताल भद्रपुरमा मृत्यु भएको थियो । घट्नापछि दुर्गा तथा खेम बिरूद्ध ज्यान मारेको अभियोगलगाएर मृतकका ससुरा बिष्णुलाल माझीले कुटपिट गरी कर्तव्य ज्यान मुद्धामा किटानी जाहेरी दिएका थिए ।

झापा जिल्ला अदालतबाट २०७७ वैशाख ३० गते पक्राउ अनुमति लिएर खोजी तीव्र पारिएको जिल्लाका एसपी कृष्ण प्रसाद कोइरालाले जनाए । थापा मगरलाई इन्सपेक्टर साकारराज पन्तको कमाण्डमा खटिएको बिशेष टोलीले पक्राउ गरेको एसपी कोइरालाको भनाई छ । आफ्नो घर नबसी काठमाण्डौ, भारतको कोलकत्ता ,दार्जिलिङलगायतका विभिन्न स्थान, वैदेशिक रोजगारीको लागि मलेसिया साथै दुबईमा समेत गई बसेको र नेपालमा हुँदा प्राय आफन्तहरुकै घरमा लुकिछिपि बस्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको कोइरालाको भनाइ छ ।

मगरलाई जिल्ला अदालत झापामा शुक्रबार पेश गरी पहिलो पटक ५ दिनको म्याद थपेर अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा उनलाई राखिएको छ । उनले मुलुकी ऐन २०२० को ज्यानसम्बन्धी महलको दफा १३ बमोजिमको कसुर गरेकाले जन्म कैद सम्मको सजाय हुन सक्ने व्यवस्था रहेको कोइरालाले बताए । फरार रहेका अर्का आरोपी फुँयलको खोजी तीव्र पारिएको उनले जनाए ।