भण्टाबारी/ खुल्ला सीमाका कारण भारतबाट हुने दैनिक तस्करीले गर्दा कोरोनाको जोखिम पनि उस्तै गरी बढेको छ ।
तस्करी प्रतिदिन बढ्दा कोरोना सङ्क्रमणको जोखिम बढेको हो । स्थानीयहरू भने सीमा सिल गर्नुपर्ने माग गरिरहेका छन् । विगतको तुलनामा अधिक सङ्ख्यामा सुरक्षाकर्मी परिचालन भए पनि खुला सीमाको फाइदा उठाउँदै तस्करी बढिरहेको हो । भारतमा कोरोनाको दर बढिरहेकाले संवेदनशील भए पनि चोरीपैठारी नियन्त्रण हुन नसक्दा कोरोनाको जोखिम बढेको सिसुवा धर्मपुरका अफ्ताब अलीले बताए ।
उनले आक्रोस पोख्दै भने, ‘सुरक्षाकर्मी आफै तस्करसँग मिलेका छन्, अरू कसले रोक्ने ?’ उनका अनुसार रातको समयमा भारतबाट दर्जनौं भरियाहरू आउने गरेका छन् । विगतमा भन्दा अहिले सीमामा व्यापक प्रहरी परिचालित भए तापनि तस्करी हुने क्रम नरोकिँदा सङ्क्रमित व्यक्ति भित्रिने सम्भावना अधिक रहेको स्थानीयवासीको गुनासो छ ।
दैनिक, साप्ताहिक र मासिक रूपमा नजराना बुझाउने तस्करहरूलाई खुलेआम रूपमा सीमावर्ती क्षेत्रमा तैनाथ सुरक्षाकर्मीले सामान ल्याउन दिने गरेको अलीको आरोप छ । नजराना बुझाएमा पक्राउ नगर्ने र नबुझाउँदा पक्राउ गर्ने प्रहरीको दोहोरो चरित्रका कारण समस्या भएको उनको आरोप छ । सिसुवा धर्मपुर क्षेत्रबाट हुँदै आएको तस्करी बारे समाचार आए पनि त्यसलाई रोक्न सुनसरी प्रहरीले तदारुकता नदेखाएको गुनासो आएको छ ।
उक्त नाका हुँदै नेपालबाट मरिच, मटर, मदिरा तस्करी हुने गरेको छ भने उताबाट विभिन्न आइटमका कपडा, किराना सामान, चिनी, इलेक्ट्रोनिक सामान, सुर्ती, रजन्धीगन्धा भित्रिने गरेको छ । दैनिक रूपमा लाखौं मूल्य बराबरका विभिन्न सामान भारतबाट साइकल र पैदलमार्गबाट सुरक्षाकर्मीकै संरक्षणमा ल्याउने गरिएको गुनासो आए पनि उच्चपदस्थ सुरक्षा अधिकारीको समेत मिलेमतो भएकोले त्यस्ता गैरकानूनी क्रियाकलाप रोकथाम गर्न उनीहरूले तदारुकता नदेखाएको स्रोतको दाबी छ ।
सशस्त्र प्रहरी बल बिओपी वसन्तपुरका इन्स्पेक्टर भीम भुजेलले चाहेर पनि तस्करी पूर्णरूपमा नियन्त्रण गर्न नसकेको बताए । सीमावर्ती क्षेत्रका अधिकांश मानिसको गरीखाने माध्यम नै त्यही भएको बताउँदै भुजेलले एउटाको सामान पक्राउ गर्दा अर्काले विरोध गर्ने परिपाटी रहेको बताए । यद्यपि कोरोना महामारीको समय भएकोले त्यस्ता गैरकानूनी व्यापार रोक्न सीमामा सुरक्षाकर्मीले कडाइ गर्दै आएको बताए ।