भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिका केन्द्र्रमा रहेको च्याङ्ग्रे पोखरी र पञ्चकन्या माध्यमिक विद्यालयको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरिएको छ । गाउँपालिकाले पहिचानको रुपमा रहेको च्याङ्ग्रे पोखरीको बृहत्तर विकाश गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्यका साथ डिपीआर तयार गरेको हो ।

पोखरीको डिपीआर निर्माणको लागत २ करोड १२ लाख ५९ हजार ७४ रुपैँया रहेको छ । डिपिआर अनुसार पोखरीको क्षेत्रफल विस्तार गर्ने , पोखरी परिसरमा पञ्चकन्या मन्दिरको निर्माण गर्ने, पानी वोट सञ्चालनमा ल्याउने, ढलको व्यवस्था गरि वगैंचा निर्माण गर्ने, पानीको उचित व्यवस्थापन तथा सरसफाई संगै घेराबारा लगाउने लगाएतका काम गरिने छ ।

यस्तै गाउँपालिका केन्द्रमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयको पनि डिपीआर तयार गरेर काम अगाडी बढाईएको छ । विद्यालयको डिपीआर तयारीका लागि एक करोड २७ लाख ५९ हजार लाग्ने गाउँपालिकाका अध्यक्ष किरण राईले बताए । विद्यालयको पुरानो स्वरुपलाई यथावत राख्दै भौतिक संरचनाहरु निर्माण गरिने उनले जानकारी दिए  । विद्यालयलाई गाउँपालिकाको नमूना विद्यालयको रुपमा विकास गर्ने योजना रेहेको समेत अध्यक्ष राईले दावी गरे ।

गाउँपालिकाले यस अघि पर्यटकिय क्षेत्र अरुण डाँडा, च्याङग्रे ‘भ्यू’ टावर, अन्तराष्ट्रिय मापदण्ड अनुसारको मिराराई रंगाशाला, सन्तानेश्वर महादेव लगाएत क्षेत्रको डिपीआर तयार गरेर प्रदेश सरकार संगको सहकार्यमा केही ठाउँमा काम समेत अगाडी बढाइ सकेको छ ।

गाउँपालिकाले किराँत दुङमाली भाषा संरक्षण मञ्चको पनि डिपीआर तयार गरि सकेको गाउपालिकाकी उपाध्यक्ष सम्झना राईले बताईन । च्याङ्ग्रे ‘भ्यू’ टावर निर्माणका लागि ९२ लाख, सन्तानेश्वर मन्दिर निर्माणको लागि दुई करोड सात लाख र अरुणडाँडामा भवन निर्माण तथा अन्य संरचना निर्माणको लागि ४ करोड ५० लाख लागत बराबरको डिपीआर तयार गरिएको गाउपालिकाले जनाएको छ ।