पथरी/ शरणार्थी सम्बन्धी उच्च आयोग (युएनएचसीआर) ले अनुदानमा दिएको १ सय ५० बिरुवाको विषयमा मोरङ पथरीशनिश्चरे–३ नम्बर वडामा कृषक र जनप्रतिनिधिबीच खिचातानी भएको छ ।

अनुदानको बिरुवामा ३ नम्बर वडाका किसानहरूबीच खिचातानी भएको हो । सामाजिक सञ्जाल प्रयोग गरेर वडा कार्यालय र जनप्रतिनिधि विरुद्ध भ्रम छरिएको भन्दै वडाध्यक्ष डम्बर चेम्जोङ लिम्बूले नियोजित र गलत प्रचारको पछि नलाग्न वडाबासीलाई आग्रह गरेका छन् ।

वडामा करिब तीन हजार घरपरिवार छन् । अनुदानमा आएको १ सय ५० बिरुवा सबैलाई नपुगेको भन्दै केहीले सामाजिक सञ्जाल र मिडिया प्रयोग गरी वडाध्यक्ष चेम्जोङमाथि आक्षेप लगाएपछि उनले भ्रमित नहुन सबैमा अनुरोध गरेका हुन् ।

सुनसरी इटहरीस्थित राम जानकी नर्सरीबाट बिल भुक्तानी गरेर बिरुवा ल्याएको प्रमाण वडाध्यक्ष डम्बर चेम्जोङले देखाए । १ सय ५० बिरुवा वितरण गर्ने जिम्मा वडासदस्य रहेका कृषि संयोजक गिरिराज पोख्रेलले पाएका थिए । वितरण गर्ने क्रममा भीडभाड भएपछि १ सय ३० बिरुवा बाँडियो ।

१० वटा मर्न लागेको र कमजोर भएकोले ५ जनालाई दुईवटाको दरले वितरण गरेको वडा समितिका कृषि प्रमुख गिरिराज पोख्रेलले बताए । बाँकी १० वटा बिरुवा भीडभाडमा नामै नलेखाई लगेको उनको भनाइ छ । वडाध्यक्ष डम्बर चेम्जोङ र आफूले एउटै बिरुवा नलगेको पोख्रेलले किटानीको साथ बताए । बिरुवा नपुगेको भन्दै एउटा हुलले वडा कार्यालय घेराउसमेत गर्न भ्याएको थियो । ‘स्पष्टीकरण दिँदा पनि अविश्वास मात्र होइन, उल्टै व्यक्तिगत जीवनमा आँच आउने हिसाबले सोशल मिडिया प्रयोग हुन थालेकोमा दुःख लागेको छ’–वडाध्यक्ष चेम्जोङले भने ।

वडाको बारेमा प्रमाणित नहुने कुरा पटक–पटक आउनुको कारण बारे अध्ययन हुने उनले बताए । कागती, लिची र सुपारीको बिरुवा १० वटै वडामा १ सय ५० को दरले आएको हो । एउटा बिरुवालाई दुईदेखि तीन सयसम्म पर्छ । अन्य वडामा पनि वितरणमा सानातिना समस्या देखिए । तर, ३ नम्बर वडामा १ सय ५० बिरुवामै कार्यालय घेराउदेखि जनप्रतिनिधि विरुद्ध गलत प्रचार हुनुमा केही व्यक्तिको नियत मै खोट रहेको वडाध्यक्ष चेम्जोङको भनाइ छ ।

शरणार्थीसम्बन्धी उच्च आयोग (युएनएचसीआर) भुटानी शरणार्थीसम्बन्धी काम गर्न बसेको थियो । आयोगले शरणार्थी प्रभावित क्षेत्रमा कृषि, स्वास्थ्य, शिक्षालगायतमा सहयोग गर्दै आएको छ । भुटानी शरणार्थी पुनर्वास कार्यक्रम अन्तर्गत तेस्रो राष्ट्र गइसक्न लाग्दा सहयोगको दायरा घटाउँदै लगेको छ । गत आर्थिक वर्षमा पथरीशनिश्चरेको १० वटै वडामा १ सय ५० वटाको दरले कागती, लिची र सुपारीको बिरुवा दिएका थिए ।