धनकुटा/ मध्यपहाडी लोकमार्ग अन्तर्गत हिले–पाख्रीबास सडक–खण्डको ठेक्का पाएको कम्पनीले गुणस्तरहीन कार्य गरेको भन्दै कारबाहीको माग गरिएको छ ।
द कञ्चनजङ्घा रायमाझी मोतीदान जेभीले हाल निर्माण गरिरहेको १३ किलोमिटर सडक–खण्ड गुणस्तरहीन भएको उपभोक्ताले जनाएका छन् । यता जेभीले हालसम्म ६५ प्रतिशत मात्रै काम सम्पन्न गरेको छ । जसअन्तर्गत हिलेदेखि पञ्चेसम्मको १३ किलोमिटर सडकमा सवारी गुड्न सक्ने अवस्था छैन ।
सडक निर्माणमा चरम लापरबाही गरेको भन्दै धनकुटेली सडक उपभोक्ताहरूले गुनासो गरे । २०७२ चैत २ गते सम्झौता गरेको जेभीले तीन वर्षमा काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । हिलेदेखि पञ्चेसम्मको १३ किलोमिटर सडक निर्माण गर्न ३८ करोड २३ लाख २४ हजार ४ सय ६६ रुपैयाँमा सम्झौता गरेको थियो ।
मङ्गलबार सङ्घीय सांसद् राजेन्द्रकुमार राईले निर्माण व्यवसायीले कामै नगरी २८ करोडभन्दा बढी रकम भुक्तानी लगेको बताए । सांसद् राईले भने, ‘सडकमा गाडी त गुडेन, गुडेन, खुट्टाले टेकेर हिँड्न सक्ने समेत अवस्था रहेन ।’ तीन वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता गरे पनि ६ वर्षमा पनि काम सम्पन्न नभएकोमा अब पाख्रीबास नगरपालिका आफैले जिम्मा लिने जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा १४ पटकसम्म बैठक बसेर निर्माण कम्पनीलाई सडक निर्माणको लागि दबाव दिँदा पनि काम नभएको जिल्ला समन्वय समितिका प्रमुख टङ्क चौहानले बताए ।
तोकिएको मापदण्ड र समय अवधिमा काम नगर्ने ठेकेदार र निर्माण कम्पनीलाई कालो सूचीमा राखेर कडाभन्दा कडा कारबाहीको प्रक्रिया अगाडि बढाउने बताए । मध्यपहाडी लोकमार्ग हेर्ने परियोजनाका प्रमुख दीपक केसीले ठेकेदार कम्पनीले आफूले गरेको गल्ती स्वीकार गरिसकेको बताए ।
निर्माण कम्पनीले सम्झौता अवधिमा काम सम्पन्न नगरेको र मापदण्ड बमोजिम काम नभएकाले परियोजनाको तर्फबाट पनि आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउने तयारी भइरहेको बताए । परियोजनाका इञ्जिनियर अवदेश यादवले ६५ प्रतिशत काम गरेको निर्माण कम्पनीलाई ७४ प्रतिशत रकम भुक्तानी दिनु नै गल्ती भएको बताए ।
उनले पञ्चे–लेगुवा सडक–खण्डमा भने सन्तोषजनक काम भइरहेको बताए । हालसम्म भ्याटबाहेक कुल ३९ करोडमा ५५ प्रतिशत कामको प्रगति पूरा गरेर १८ करोड मात्र भुक्तानी लगेको र काम भइरहेको यादवले दाबी गरे ।
पाख्रीबास नगरपालिकाका प्रमुख वृषबहादुर राईको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा पाख्रीबास नगरपालिका अन्तर्गतका १० वटै वडाका वडाध्यक्षहरू, विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरू र सर्वसाधारण उपभोक्ताको उपस्थिति रहेको थियो । उनीहरूले सो अवसरमा सडक कालोपत्रे गर्न सडकमा राखेको गिट्टीसमेत हिलाम्मे सडकमा डोजरमार्फत् हालेको बताए ।
पाख्रीबास र हिलेको बीचमा सडक पिच गर्न ३ वर्षअघि तयार गरेको गिट्टी सबै हिलाम्मे सडकमा लगाइदिएका छन् । वर्षौंदेखि हिले–पाख्रीबास–लेगुवा सडक–खण्ड हिलाम्मे र धुलाम्मे हुँदा सो सडक हुँदै भोजपुर, सङ्खुवासभा जाने सवारी साधन र यात्रुले सास्ती खेप्दै आएका छन् ।
सङ्घीय सांसद् राजेन्द्रकुमार राई, जिल्ला समन्वय समितिका प्रमुख टङ्कबहादुर चौहान, पाख्रीबास नगरपालिकाका प्रमुख वृषबहादुर राईले संयुक्तरूपमा पत्रकार सम्मेलन गरेर सडक निर्माणमा निर्माण व्यवसायीबाट भएको लापरबाहीको विषयमा उपभोक्तालाई जानकारी गराएका थिए ।