सङ्खुवासभा/ बृहत् मांसिमा खानेपानी निर्माण कम्पनीले हस्तान्तरण गरेको दुई महिना नबित्दै खानेपानी आयोजना बन्द भएको छ । खाँदबारीको खानेपानी समस्या हटाउन २०७० सालमा बृहत् मांसिमा खानेपानी आयोजनाको काम शुरु भए पनि निर्माण कम्पनी सिनोटिक एण्ड आशिष कम्पनीले योजना सम्पन्न गरेर हस्तान्तरण गरेको दुई महिना नबित्दै सडकमा बिछ्याइएको पाइप पूर्णरूपमा काम नलाग्ने भएपछि खानेपानी पाउनबाट उपभोक्ता बञ्चित बनेका छन् ।
पाँचपटक समय थप गरेर निर्माण कम्पनीले २०७४ पुसमा निर्माण कार्य सम्पन्न गरे पनि २०७६ जेठमा आयोजना हस्तान्तरण गर्यो । हस्तान्तरण भएको दुई महिनापछिबाट खानेपानी आयोजना सञ्चालन हुन नसकेको खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कार्यालय प्रमुख महेन्द्र श्रेष्ठले बताए । ४५ करोड १ लाख ५५ हजार रुपैयाँमा निर्माण सम्पन्न भएको खानेपानी आयोजनाको पानी उपभोक्ताले भने पाउन सकेका छैनन् ।
सदरमुकाम खाँदबारीको खानेपानी अभाव अन्त्य गर्न ४३ किलोमिटर टाढा मकालु गाउँपालिका–५ मांसिमाबाट पानी ल्याइएको थियो । खाँदबारी–४ अरुणथानबाट कुवापानी ट्रिटमेण्ट प्लाण्ट ट्याङ्की हुँदै देउरालीसम्मको सडकमा रहेको करिब २५ किलोमिटर क्षेत्रको मुख्य पाइप पूर्णरूपमा काम नलाग्ने अवस्थामा पुगेको स्थानीय उपभोक्ता बताउँछन् । सडकमा विस्तार भएको पाइप फेर्नु पर्ने भएकोले धेरै खर्च लाग्ने भएकाले खर्च अभावमा पाइप मर्मत गर्न नसकिएको खानेपानी कार्यालयले जनाएको छ ।
किमाथाङ्का–खाँदबारी सडक–खण्डमा पाइप विस्तार गरिएकाले समस्या भएको हो । यस सडक–खण्डमा काम गरिरहेको उत्तर–दक्षिण (कोशी) सडक आयोजना कार्यालयले पटक–पटक सडकमा पाइप नराख्न भने पनि खानेपानी आयोजनाले त्यसलाई बेवास्ता गर्दै मुख्य सडकमै पाइप विस्तार गरेको थियो । खानेपानी सञ्चालन हुन नसक्दा खाँदबारी नगरपालिकाको १ देखि ९ वडाका विभिन्न स्थान, चिचिला गाउँपालिकाको चिचिला बजार क्षेत्र र कुवापानी सहितका ३ हजार ५ सय घरधुरी खानेपानीबाट बञ्चित हुनुपरेको छ ।
खानेपानी वर्ष दिनसम्म बन्द रहँदासमेत यसमा सम्बन्धित पक्षको ध्यान पुग्न नसकोको उपभोक्ताहरूको गुनासो रहेको छ । खानेपानी संस्थाले जडान शुल्क बापत उपभोक्ताहरूबाट अग्रिमरूपमा साढे २ करोडभन्दा बढी रकम उठाए पनि पानी उपभोग गर्न नपाउँदा स्थानीय आक्रोसित बनेका छन् ।
गलत डिजाइन र गलत परामर्शका कारण सडकमा पाइपलाइन विस्तार गरिएकाले अहिले यस्तो समस्या आएको खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष नरेन्द्रकुमार मेवाहाङ बताउँछन् । दाताको सहयोगबिना संस्थाले पाइप मर्मत गरी पानी वितरण गर्न नसक्ने उनको भनाइ छ ।
मर्मतमा थप रकम तिर्नुपर्ने
खानेपानी योजना निर्माण सम्पन्न गरी हस्तान्तरण भएको दुई महिनापछि सञ्चालन हुन नसकेको योजना मर्मतका लागि पुनः उपभोक्ताले थप रकम तिर्नु पर्ने भएको छ ।
पाइपलाइन मर्मतका लागि तेस्रो साना शहरी खानेपानी आयोजनाले ४ करोड रुपैयाँभन्दा बढी रकम दिने भएपछि खानेपानी संस्थाले पुनः उपभोक्तामार्फत् थप ५ प्रतिशत रकम उठाउने खानेपनी संस्थाले जनाएको छ । तेस्रो साना शहरी खानेपानी आयोजनाले पुरानै स्थानमा पाइप रहने गरी मर्मतका लागि बोलपत्र आह्वान गरेको हो । खानेपानी संस्थाले यसअघि जडान शुल्क बापत उपभोक्ता बाट अग्रिमरूपमा साढे २ करोड रुपैयाँ (५ प्रतिशत) भन्दा बढी रकम उठाएको थियो । खाँदबारी–४ अरुणथानबाट कुवापानी ट्रिटमेण्ट प्लाण्ट ट्याङ्की हुँदै देउरालीसम्मको सडकमा रहेको करिब २५ किलोमिटर क्षेत्रको मुख्य पाइप पूर्णरूपमा काम नलाग्ने भएपछि खानेपानी संस्थाले पुनः मर्मत गर्न लागेको हो ।
खानेपानी संस्थाले पुनः सडकमा नै पाइप राख्ने गरीको योजना सञ्चालन हुन लागेको खानेपानी संस्थाले जनाएको छ । सडकभन्दा बाहिरबाट पाइप विस्तार गर्न ठूलो रकम खर्च हुने भएकाले पुनः सडकमा नै पाइप विस्तार गर्न लागिएको खानेपानी संस्थाका अध्यक्ष मेवाहाङले बताए । मर्मतका लागि गरिएको बोलपत्र आह्वनमा गैरी पाङ्मा र कुवापानीमा रहेको पानी प्रशोधन ट्याङ्की मर्मतसहित क्षति भएको पाइप मर्मत गर्ने भनेर खुलाइएको छ ।
यता उपभोक्ता भने पुनः खानेपानी सञ्चालनमा आउन नसक्ने बताउँछन् । तेस्रो साना शहरी खानेपानी आयोजनाले गर्ने खर्च बालुवामा पानी हालेजस्तै हुन सक्ने भन्दै यसका लागि वैकल्पिक मार्ग प्रयोग गरेर पाइप विस्तार गर्नुपर्ने उभोक्ताहरूको माग रहेको छ । पुरानै संरचनामा योजना सञ्चालन गर्ने हो भने मर्मत पूरा नहुँदै सडकमा राखिने पाइन बिग्रिने खतरा छ । खाँदबारी बजारवासीले खानेपानीको हाहाकार व्यहोरिरहेका छन् ।