दमक/ सरकारले सिट क्षमताको आधा मात्रै यात्रु चढाउनु पर्ने मापदण्ड कायम गरे पनि प्रदेश १ मा सञ्चालन हुने सार्वजनिक सवारी साधनले उल्लङ्घन गरिरहेका छन् ।
सञ्चालित रहेका सार्वजनिक सवारीहरूले सिट क्षमताभन्दा बढी यात्रु राखेर बस सञ्चालन गरिरहेका छन् । तर पनि नियमनकारी निकायले ध्यान दिएको छैन । भाडादर भने दोब्बर उठाइरहेको यात्रुहरूले गुनासो गरेका छन् ।
सरकारले तोकेको मापदण्डमा सबै यात्रुले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने, यात्रु चढ्ने समयमा सवारीसाधनको ढोकामा र भित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, चालक तथा सहचालकले समेत अनिवार्य रूपमा मास्क, भाइजर र पञ्जा लगाउन भनिएको छ ।
त्यस्तै सवारी साधनलाई दैनिक निःसङ्क्रमण गर्ने गरी सञ्चालन गर्नुपर्ने लगायतका मापदण्ड कायम गरिएका छन् । यो नियमको आधारमा यात्रुबाट ५० प्रतिशत बढी भाडा लिन पाउने अधिकार प्रत्यायोजन गरिएको छ । तर, बसमा तोकिए भन्दा बढी यात्रु राखेर ५० प्रतिशत भाडा पनि थप गरी लिने र सामान्य सुरक्षा उपाय पनि नअपनाएको यात्रु कृष्ण भट्टराईले बताए ।
असार २५ सरकारले गरेको निर्णयलाई कार्यान्वयन गर्दै यातायात व्यवसायीहरूले सवारी साधन सञ्चालनमा ल्याएका छन् । न्यूनतम सुरक्षाको उपाय नअपनाएका कारणले कोरोनाको जोखिम थप बढेको छ । मे १ ख २८६६ नम्बरको मुनाल यातायातमा यात्रारत भट्टराईले यात्रु खचाखच भए पनि थप यात्रुको पर्खाइ गर्ने गरेको बताए । उनले भने, ‘दमकमा मात्रै २ घण्टा पर्खाइ दियो ।’
दमकबाट बिर्तामोडसम्मको भाडादर १ सयदेखि १ सय २० रुपैयाँसम्म लिइएको उनले गुनासो पोखे । यो अवस्था मुनालमा मात्रै हैन, अन्यमा पनि यस्तै कुरा लागू भएको छ । को १ ख ४१८६ नम्बरको मातृभूमि सुपर सर्भिस, मे १ ख ३०२९ नम्बरको डल्फिनलगायत अधिकांश बसहरूमा यस्तै समस्या भए पनि नियमनकारी निकाय र सम्बन्धित यातायात व्यवसायीले पनि ध्यान दिएको पाइँदैन ।
जिल्लाको सिमानामा सास्ती
काठमाडौं उपत्यका बाहेक अन्य जिल्लाको हकमा एक जिल्लाभित्र मात्र यात्रुबाहक बसहरू सञ्चालन भइरहेका छन् । जसले गर्दा जिल्लाको सीमावर्ती स्थानमा नागरिकको भिड बढेको छ । झापाको शान्तिनगरबाट जितेन्द्र सिलवाल आयूर्वेदिक औषधि लिनका लागि इटहरी गएका थिए ।
उनका अनुसार शान्तिनगरबाट इटहरी पुग्न ४ वटा बस फेरेको अनुभव सुनाए । समुदायस्तरमा कोरोना फैलिएकाले यात्रुहरूले लामोदूरीको यात्रा गर्ने योजना बनाउनु घातक हुने स्वास्थ्य विज्ञ तथा सरुवा रोग विशेषज्ञ डा. समिरमणि दीक्षित बताउँछन् । उनले जिल्लाभित्र मात्र सुरक्षित भएर यात्रा गर्न सुझाव दिए ।