भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिकाले अतिविपन्न गरिव परिवारलाई सोलार सेट वितरण गरेको छ । गाउँपालिकाले एक सय ५२ गरिव घर परिवारलाई २० वाट क्षमताको सोलार सेट वितरण गरेको हो ।

तत्काल विद्युत सेवा पुग्न नसकेको तथा भौगोलिक विकटता भएको वडाका स्थानीयलाई लक्षित गरि सोलार सेट वितरण गरिएको गाउँपालिकाका अध्यक्ष किरण राईले बताए । ग्रामिण क्षेत्रका अति गरिव , विपन्न दलित र एकल महिलाहरुको घर पहिचान गरेर सोलार वितरण गरिएको उन्ले जानकारी दिए । अध्यक्ष राईका अनुसार गाउपालिकामा विद्युत विस्तारको काम भइरहेको भए पनि अलिलेका लागि कोहि नागरिक उज्यालोबाट बञ्चित नहुन भन्ने उद्धेश्यका साथ सोलार वितरण गरिएको हो ।

संघीय सरकारको ससर्त अनुदान तर्फको बैकल्पीक सौर्य उर्जा कार्यक्रम अन्तर्गत प्राप्त ११ लाख ३१ हजार बजेट बाट सोलार वितरण गरिएको गाउपालिकाकी उपाध्यक्ष सम्झना राईले बताईन ।

कार्यक्रम अन्र्तगत वडा नं.–१ श्यामशिलाका २५ घर परिवार वडा नं.–२ तिवरी भञ्याङका १५ , वडा नं.– ३ च्याङ्ग्रेका २० , वडा नं.– ४ बास्तिमका ३३ ,वडा नं.– ५ सानोदुम्माका २५ र वडा नं. ६ ठुलो दुम्माका ३० गरि १ सय ५२ घर परिवारलाई सोलार सेट वितरण गरिएको छ । सोलार सेट पाए पछि स्थानीय पासाङ तामाङले खुसी हुदै भने “ भौगोलिक विकटताका कारण हाम्रो गाउँमा विद्युत आउन ढिलाई भयो, अहिले गाउँपालिकाले सोलार दिएको छ, यसले बर्षौदेखि कुपीको साहारामा बस्नु पर्ने बाध्यता हटेको छु ।”

गाउँपालिकाले दिएको सोलार पाए पछि ६ वटै वडाका अति विपन्न गरिव जनता खुशी भएका छन् । आर्थिक अभावका कारण कुपिको उज्यालोमा वस्नु पर्ने वाध्यताको अन्त्य भए पछि उनीहरु खुसी भएका हुन् ।