धनकुटा/ धनकुटाको एक विद्यालयमा अपाङ्ग शिक्षक कोटामा अनियमितता गरी सपाङ्ग आफन्तलाई जागिर खुवाएको भन्दै दृष्टिविहीन जिल्ला कार्य समिति धनकुटाले विरोध जनाएको छ ।
जिल्लाको शहीदभूमि गाउँपालिका वडा नं.७ मा रहेको सिंहदेवी मावि साप्तिङटारमा रहेको सिद्धदेवी माध्यमिक विद्यालयमा गाउँपालिका अध्यक्षका नातेदारलाई जागिर खुवाइएको भन्दै सङ्घले शनिबार एक विज्ञप्ति जारी गरेर आपत्ति जनाएको छ ।
उक्त विद्यालयमा कार्यरत एक दृष्टिविहीन महिला शिक्षक स्थायी भई अन्यत्र गएपछि रिक्त रहेको पदमा नियुक्तिमा गाउँपालिका अध्यक्ष र विद्यालयका प्रधानाध्यापकको मिलेमतोमा सपाङ्ग शिक्षक नियुक्ति गरेको उनीहरूको आरोप छ ।
शिक्षा तथा मानव विकास केन्द्रको परिपत्रअनुसार रिक्त पदमा दृष्टिविहीनहरू बीचको प्र्रतिस्पर्धाबाट शिक्षक छनौट गर्नुपर्ने भए पनि नियम विपरीत शिक्षक नियुक्ति गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
लकडाउनको अवस्थामा ३ पटकसम्म सार्वजनिक सूचना जारी गर्दा पनि कुनै अपाङ्गता भएको व्यक्तिको दरखास्त नआएको हुँदा सपाङ्गलाई नियुक्ति दिइएको भन्ने विद्यालयको सूचनाको व्यहोराप्रति विज्ञप्तिमा घोर भत्र्सना गरिएको छ ।
यस बिषयमा सङ्घले गाउँपालिकामा ज्ञापन–पत्र बुझाए पनि कुनै सुनुवाइ नगरेको सङ्घका अध्यक्ष चन्द्रहाङ लिम्बूद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । राहत कोटामा अपाङ्गता भएका व्यक्तिलाई नियुक्ति दिएर आफ्ना मागहरू पूरा नभए कानूनी बाटोमा जाने उनीहरूले विज्ञप्तिमा चेतावनी दिएका छन् ।
यस विषयमा गाउँपालिकाका अध्यक्ष मनोज राईले भने विद्यालयले पटक–पटक गरेर ३ पटकसम्म सूचना जारी गरेपनि आवेदन नपरेको भनेर खुला प्रतिस्पर्धाका लागि अनुमति मागेको जानकारी दिए । ‘गाउँपालिकाले दृष्टिविहीन महिलाको कोटा सुरक्षाका लागि अनुमति दिएनौं तर चौथो पटक भने दृष्टिविहीन महिलाको अधिकार सुरक्षित राखेर अनुमति दिएका हौं’ –उनले भने ।
पहिलो पटक १५ दिने र त्यसपछि ७–७ दिनको सूचना जारी गर्दा पनि दृष्टिविहीन महिलाको दरखास्त नपरेको जानकारी पछि खुला प्रतिस्पर्धामा विद्यालयले शिक्षक नियुक्ति गरेको उनको भनाई छ । ‘दृष्टिविहीन महिलाहरू कुनै पनि बेला आएमा उक्त कोटामा गाउँपालिकाले राहत कोटामा नियुक्ति गर्ने कोटा सुरक्षित राखेको अध्यक्ष राईले ब्लाष्टलाई बताए ।