वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका–१ चतराघाटमा ढुङ्गा खसेर लाग्दा एक युवाको ज्यान गएको छ ।
शनिबार बिहान जेसिबीले सडकमा खसेको ढुङ्गा पन्छाउने क्रममा ढुङ्गा खस्दा भोजपुर आमचोक गाउँपालिका–८ का २० वर्षीय राजकुमार राईको मृत्यु भएको हो । ८ बजेर ४५ मिनेटमा भएको घटनामा अर्का उनीसँगै रहेका दाजु ३० वर्षीय शङ्कर राई र १० वर्षीय अजय राई गम्भीर घाइते बनेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर पाण्डव राजवंशीले जानकारी दिए ।
स्वामी नारायण एण्ड आशिर्वाद कम्पनीले सामान ल्याउने क्रममा बाटोमा गएको पहिरो पन्छाउँदा ढुङ्गा खसेको थियो । कम्पनीको १ क १७६० नम्बर जेसिभीले अवरोध पुर्याएका सडकको पहिरोलाई पन्छाउने क्रममा ढुङ्गा खसेर राईलाई लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको छ ।
थप चार जना सकुशल रहेको इन्स्पेक्टर राजवंशीले जानकारी दिए । उनका अनुसार ३० वर्षीय महेन्द्र राई, ९ वर्षीया समीक्षा राई, २४ वर्षीय विशाल राई, ६२ वर्षीया बुद्धिमाया राई सकुशल रहेका छन् । उनीहरू ७ जनाको समूहमा भोजपुरको आमचोक जाँदै गरेका थिए ।
मामा अर्जुन राईले भने, ‘आमचोक घर जाने क्रममा माथि चलिरहेको जेसिबीलाई रोक्न जानकारी गराएका थियौं । चालकले मेसिन नरोक्दा भाञ्जामाथि ढुङ्गा लाग्न पुग्यो, म केही अगाडि भएकाले मात्रै बाँचे ।’
मृतक राजकुमारको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ । घाइतेहरूको अवस्था सुधार भइरहेको प्रहरीले जनाएको छ । जेसिबी चालक झापा गौरीगञ्जका ३६ वर्षीय कमलबहादुर खत्रीलाई नियन्त्रणमा लिएको इन्स्पेक्टर राजवंशीले जानकारी दिए । जेसिबीलाई पनि नियन्त्रणमा लिइएको छ ।