धरान/ इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो चाड बकर इद मनाइएको छ ।

तीन दिनसम्म मनाइने मुस्लिम धर्मावलम्बीको बकर इदलाई ‘इद–उल–अज्हा’ का नामले पनि चिनिन्छ । बलिदानी पर्वको रूपमा मनाइने यो पर्व शनिबारदेखि शुरु भएपछि तीन दिनसम्म मनाइने अञ्जुमन इस्लामियाले जनाएको छ । इस्लाम महिना जुल हिज्जाको दशैं दिन यो पर्व मनाइने मुस्लिम आयोग अनुगमन समितिका जिल्ला सदस्य फिरोज अलीले जानकारी दिए ।

देशभरका इस्लाम धर्मावलम्बीहरूले बिहानै मस्जिदहरूमा भेला भई नमाज पढेर पर्वको शुरुवात गर्ने गरेका छन् । एक–अर्काबीच अङ्गालो मार्दै आत्मीयता साटासाट गर्ने भए पनि यस वर्ष कोभिड– १९ को महामारीका कारण घर–घरमै नमाज पढेर बकर इद मनाइने अलीले जानकारी दिए ।

बकर इदमा जनावरलाई कुर्वानी अर्थात् बलि दिने गरिन्छ । सो अवसरमा मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरिब र एक भाग परिवारले राख्ने गर्दछन् । राष्ट्रिय जनगणना २०६८ अनुसार धरानमा १ हजार ८ सय ३ जना इस्लाम धर्मावलम्बीहरू रहेका छन् ।