धरान / कुसुम गुरुङ र भविन ढुंगानाको स्वर रहेको ‘माकुरी माया’ सार्वजनिक भएको छ । पूर्वेली लोक भाकाको गीतमा संगीत पारस मुकारुङको रहेको छ भने शब्द कवि उपेन्द्र सुब्बाको रहेको छ ।

कुसुम गुरुङको युट्युब च्यानलबाट सार्वजनिक गरिएको ठेट शब्दहरू रहेको गीतको म्युजिक भिडियोको कोरियोग्राफ तथा निर्देशन आशिष राईले गरेका छन् । फिल्म मेकिङका विद्यार्थीसमेत रहेका राईको निर्देशन रहेको म्युजिक भिडियोमा इमेज लोकस्टारबाट आएका निकेश राई र मोडल बिमला खजुमको अभिनय रहेको छ ।

कवि एवं गीतकार सुब्बाले भने, ‘निकै अगाडि रचना गरेको गीत रेकर्ड भएर आएकोमा खुशी छु । मैले त झण्डै बिर्सिएको रहेछु ।’ उनले गीतमा स्वर र भिडियो दुवैमा न्याय भएको बताए । गायिका कुसुम गुरुङले अग्रज एवं अब्बल गीतकारको शब्दमा सक्दो न्याय गर्ने प्रयास गरिएको बताइन् । म्युजिक भिडियो निर्देशक आशिषले भिडियोमा आफूले सक्दो मेहनत गरेको बताए ।

२०६१ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेपछि कुसुमले २०६२ सालमा ‘भीरमाथिको गाउँ’ एल्बम बजारमा ल्याएकी थिइन् । टीका चाम्लिङको शब्द र पारस मुकारुङकै संगीत रहेको एल्बमको शीर्ष गीतमा उनलाई स्वरमा भीषण मुकारुङले साथ दिएका थिए । बीचमा केही गीत रेकर्ड गरेका उनले गत कात्तिकमा पूर्वसभासद् मधु गुरुङको शब्द र संगीत रहेको ‘सुनमाया’मार्फत सांगीतिक पुनरागमन गरेकी हुन् ।