सङ्खुवासभा/ अपाङ्ग रोकथाम तथा पुनस्र्थापना कार्यक्रम सञ्चालनको लागि सङ्खुवासभामा त्रिपक्षीय सम्झौता भएको छ ।

सदरमुकाम खाँदबारीमा शुक्रबार एक कार्यक्रमबीच प्रदेश सरकार, स्थानीय तह र करुणा फाउण्डेशनबीच सम्झौतामा हस्ताक्षर भएको हो । शुक्रबार ४ वटा पालिकासँग सम्झौता गरिएको करुणा फाउण्डेशन सङ्खुवासभा टिम लिडर सुरजकुमार सरदारले जानकारी दिए । जिल्लाको चिचिला गाउँपालिका, खाँदबारी नगरपालिका, सभापोखरी गाउँपालिका र पाँचखपन नगरपालिकासँग गरिएको र बाँकी ६ वटा पालिकाहरूसँग चाँडै सम्झौता गरिने उनको भनाइ छ ।

यसै आर्थिक वर्षदेखि शुरु भएको कार्यक्रम ३ वर्षसम्म सङ्खुवासभाका १० वटै स्थानीय तहहरूमा सञ्चालन हुने छ । करुणा फाउण्डेशनले एक तिहाइ लगानी गर्नेछ भने एक एकतिहाइ स्थानीय तह र प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले गर्नेछ ।

तीन वर्षसम्म सञ्चालन हुने यो कार्यक्रमको अन्तिम वर्ष भने स्थानीय तह र प्रदेश सरकारले मात्र गर्ने र करुणा फाउण्डेशनको प्राविधिक सहयोग रहनेछ । अपाङ्ग रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत यस वर्ष अनुमानित ५ करोड रुपैयाँ बढी खर्च हुने करुणा फाउण्डेशन सङ्खुवासभाका कार्यक्रम अधिकृत मनोज पौडेलले जानकारी दिए । उनले सबै पालिकाहरूसँग सम्झौता भइनसकेकोले एकिन अनुमानित खर्च विवरण आउन नसकेको बताए ।

यस कार्यक्रम मातृशिशु तथा बाल स्वास्थ्य, स्वास्थ्य संस्थाहरूको स्तरोन्नति, महिलाहरूलाई स्वास्थ्य सेवामा पहुँच, अपाङ्हरूको तथ्याङ्क सङ्कलन गर्नेलगायतका कार्यक्रम सञ्चालन गरिने फाउण्डेशनका प्रदेश कार्यालय कार्यक्रम व्यवस्थापक कमल कोइरालाले जानकारी दिए ।

उनले समग्र अपाङ्गहरूको हक हितका लागि करुणा फाउण्डेशनले स्थानीय सरकारसँग काम गरिरहेको बताए । प्रदेश १ को मोरङ, सुनसरी, पाँचथर, धनकुटा, भोजपुर र सङ्खुवासभामा यो कार्यक्रम सञ्चालन भइरहेको र आगामी २ वर्षभित्रमा प्रदेश १ का सबै जिल्लामा कार्यक्रम सञ्चालन हुनेछ ।