• सन्तोष गौतम

मधुमल्ला / मोरङको मिक्लाजुङका मुख्य ठूला खोलाहरू मावा र बक्राहा खोलामा अविरल वर्षासँगै आएको बाढीका कारण उच्च जोखिम रहेका स्थानहरूमा तत्काल रोकथाम र तटबन्धनका कार्य धमाधम भइरहेको छ । केही दिन अघिदेखिको अविरल वर्षासँगै आएको बाढीले मिक्लाजुङका विभिन्न स्थानमा खेतीयोग्य जमिन कटान गरी क्षति पु¥याएको छ ।

यस वर्ष सबैभन्दा बढी उच्च जोखिम मिक्लाजुङको वडा नं. २ को रचनामा रहेको र त्यहाँ कोशी बक्राहा परियोजनाको सहयोगमा तटबन्धन कार्य भइरहेको मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले बताए । सो स्थानमा केही दिनअघि निर्माण गरिएका स्परहरू बक्राहा खोलामा आएको बाढीले बगाएको र करिब ३ बिघा बढी खेतीयोग्य जमिन कटान गरेको स्थानीय केबी किरातले बताए । खोलामा यस्तै गतिमा बाढी आइरहे र मिक्लाजुङ–२ को रचनाटोलमा मानव बस्ती नै उठ्न सक्ने जोखिम रहेको उनले बताए ।

यस्तै बक्राहा खोलाको मलामी टहरा उत्तर–दक्षिण, बक्राहा खोला पुल दक्षिण र कसेनी पश्चिम क्षेत्रमा खोलाको जोखिम यथावत् रहेको मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले बताए । यस्तै मावा खोलाको पुल दक्षिण र उत्तर तर्फसमेत मावा खोलाले कटान गरिरहेकोले ती स्थानहरूमा समेत सम्बन्धित कार्यालयहरूसँग समन्वय गरेर तत्कालका लागि जोखिमयुक्त स्थानहरूमा तत्काल रोकथामका उपायहरू अपनाई तटबन्धन कार्यहरू भइरहेको गाउँपालिका अध्यक्ष आचार्यले बताए ।
मिक्लाजुङ क्षेत्रमा खोलाले पु¥याएको क्षतिको बारेमा प्रदेशसभा सदस्य कुलप्रसाद साम्बा र प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडाले यसअघि नै स्थलगत निरीक्षण गरी तत्काल रोकथामका लागि गर्न सकिने कार्यहरू गर्न निरन्तर लागिपर्ने बताएका थिए ।