सङ्खुवासभा /  गत असार २७ गते रातिको अविरल वर्षासँगै गएको पहिरोले सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका ९ घर बगाउँदा ११ जना बेपत्ता बनेका परिवारलाई सहयोग जुट्न थालेको छ ।
पहिरोमा घाइते भएका, मृतकका परिवार र विस्थापित भएकाहरूलाई सहयोग सङ्कलनका लागि यतिबेला विभिन्न सङ्घ–संस्थाहरू जुटेका छन् । बेसिन्दा पहिरोमा ९ घर बगेपछि पहिरोको उच्च जोखिममा परेका सिलिचोङका १ सय ३८ घरपरिवारलाई तत्कालका लागि विभिन्न स्थानमा स्थानान्तरण गरिएको छ ।

बेसिन्दाबाट विस्थापित ८६ घरमध्ये २९ परिवार सिसुवाटारको बुधबारे र ५७ परिवारलाई चित्रेमा राखिएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले बताए । उनले चेप्चेवाका १८ विस्थापित परिवारलाई सिलिचोङकै पौखमटारमा सारिएको साथै होयङ्ला, चटेक्मा, तिवाटार लगायतका पनि अस्थायी टहरोमा सारिएको बताए । पहिरोमा घाइते भएका, मृतकका परिवार र विस्थापितहरूलाई सहयोग गर्न राजनीतिक दललगायत विभिन्न सङ्घ–संस्थाहरू सहयोग सङ्कलनमा जुटेका छन् ।

नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सङ्खुवासभाले नेपाली काङ्ग्रेस प्राकृतिक विपत् राहत कोष सङ्खुवासभा स्थापना गरेर सहयोग सङ्कलन गरिरहेको छ । निरु तामाङ बस्नेतको संयोजकत्वमा बनेको समितिको राहत कोषमा हालसम्म ५ लाख बढी राहत सङ्कलन भइसकेको बताइएको छ । यसअघि पीडित परिवारका लागि ६८ हजार मूल्य बराबरको विद्युत् सामग्री सहयोग गरिसकिएको र राहत कोषमा सङ्कलित रकम विस्थापित परिवार पुनस्र्थापनाका लागि सहयोग गरिने नेपाली काङ्ग्रेस प्राकृतिक विपत् राहत कोष समितिका संयोजक निरु तामाङ बस्नेतले जानकारी दिइन् ।

त्यस्तै सिलिचोङ गाउँपालिका समन्वय समिति काठमाडौंले पनि सहयोग सङ्कलन गरिरहेको छ । पहिरो पीडितहरूका लागि भन्दै समितिले हालसम्म ६ लाख बढी रकम सङ्कलन गरेको जनाएको छ । देश विदेशमा रहेका दाताहरूबाट रकम सङ्कलन भइरहेको सिलिचोङ गाउँपालिका समन्वय समिति काठमाडौंका अध्यक्ष संयोगान्त कुलुङले बताए । यसअघि प्रदेश सरकारमार्फत् त्रिपाल, टेण्ट, आवश्यक खाद्यवस्तु लगायतका सामग्री उपलब्ध गराइसकेको छ भने पुनः राहत सामग्री उपलब्ध गराउने प्रदेश सांसद् पूर्णप्रसाद राईले बताए । बेपत्ताहरूको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिए पनि बेपत्ताको शव फेला पार्न सकेको छैन ।