धरान / धरानमा केन्द्रीय कार्यालय रहेको मितेरी विकास बैङ्कले बुधबार तीनवटा स्थानीय तहलाई कोरोना राहत कोषमा रकम प्रदान गरेको छ ।
बैङ्कका सञ्चालक समितिका अध्यक्ष किशन मास्के र प्रमुख कार्यकारी अधिकृत तुलशी वस्ती उपस्थित भएर मोरङको कानेपोखरी गाउँपालिका, सुन्दरहरैंचा नगरपालिका र सुनसरीको वराहक्षेत्र नगरपालिकाको कोषमा रकम प्रदान गरेका हुन् । बैङ्कले सुन्दरहरैंचा र वराहक्षेत्रलाई नगद १–१ लाख रुपैयाँ नगद प्रदान गर्दा कानेपोखरीलाई ५० हजार रुपैयाँ प्रदान गरेको हो । बैङ्कले कोरोना भाइरसको महामारीका कारण विश्व नै आक्रान्त भएको स्थितिमा सामाजिक उत्तरदायित्व अन्तर्गत ती स्थानीय तहलाई रकम प्रदान गरेको अध्यक्ष मास्केले बताए ।

बैङ्कले प्रदेश १ कार्यालयलाई ५ लाख रुपैयाँ र धरान उपमहानगरपालिकालाई २ लाख रुपैयाँ राहत कोषमा रकम प्रदान गरेको थियो । लकडाउनका कारण वितरण गर्न असहज बनेपछि सरकारले मङ्गलबार मध्यरातिबाट लकडाउन खुकुलो बनाएसँगै बैङ्कले रकम प्रदान गरेको प्रमुख कार्यकारी अधिकृत वस्तीले बताए । ती स्थानीय तहमा बैङ्कले सेवा पनि प्रदान गर्दै आएको छ । मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलोमा मितेरी बैङ्कको शाखा सञ्चालित छ भने सुन्दरहरैंचाको विराटचोक, गोठगाउँ र दुलारीमा शाखा सञ्चालित छन् । त्यस्तै वराहक्षेत्रको कालाबञ्जार, चतरा र प्रकाशपुरमा शाखा सञ्चालनमा छन् ।

बैङ्कले प्रदान गरेको सानो सहयोगले विपन्न तथा दैनिक जीविकोपार्जनमा समस्या भएकाहरूलाई थोरै भए पनि मद्दत पुग्ने प्रमुख कार्यकारी अधिकृत वस्तीले बताए । रकम प्राप्त गरेपछि कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले, सुन्दरहरैंचाकी उपप्रमुख धनमाया तामाङ र वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले बैङ्कलाई धन्यवाद दिए । बैङ्कले कोभिड–१९ को महामारीका बेला राहत कोषमा गरेको सहयोगले ठूलो मद्दत मिलेको बताए । रकम वितरण गरिएको क्षेत्रमध्ये दुई स्थानमा क्वारेण्टिन सञ्चालित छन् भने सुन्दरहरैंचाको गोठगाउँमा कोभिड अस्पताल नै सञ्चालनमा रहेको छ ।