धरान / कोशी नदीले वराहक्षेत्र नगरपालिका–६ ठाकुरबारीस्थित १० नम्बर नोज स्पोर (बांध) कटान गरेको छ । लगातार बर्षापछि नदीमा बढेको बहावले नोज स्पोर करिव ३० मिटर कटान गरेको हो ।
कोशीको पानीको सतह २४ घण्टायता घट्दै जादा पनि थप कटान नरोकिएपछि भारतको विहारबाट आएका जलसंसाधनका अधिकारीहरुले कटान रोक्ने प्रयास गरिरहेका छन् । बुधबार नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी समेत कटान रोक्न बोरामा बालुवा हालेर पुर्ने प्रयास गरेको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले बताए । उनले भने, ‘कोशीको पुर्वी किनारमा रहेको १० नम्बर नोज स्पोरले बराहक्षेत्रको ठाकुरबारी बस्तीलाई जोगाएको छ । उत्त बांध फुटेमा चक्रघट्टी बजार पनि लैजान सक्ने भएकाले तत्काल कटान रोक्न अहिलेको आवश्यकता हो ।’
उनले कोशीले पछिल्लो केही बर्ष यता आफ्नो धार परिवर्तन गर्दै पुर्वी किनार कटान गर्न थालेको बताए । १० बर्ष अघि १० नम्बर नोज स्परबाट कोशी करिव ५ सय मिटर पश्चिम भएर बग्ने गरेको थियो । तर यो बर्ष तिव्रवेगका साथ पानीको वहाव पुर्वी किनारामा ठोकिन थालेपछि वराहक्षेत्र नगरपालिकाको ११ वटा वडा मध्ये वडा नं. ३, ४ र ५ बाहेक सबै वडा सप्तकोशी नदीको उच्च जोखिममा परेको मेयर खनालले बताए ।
सुनसरीको भिमनगरस्थित कोशी व्यारेज देखि उत्तर बराहक्षेत्र सम्मका बांध मर्मत सम्भार गर्ने र कटान नियन्त्रण गर्ने मुख्य दायित्व भारत सरकारको हो । कोशी व्यारेज निर्माण गरेको बेला देखिको उक्त सम्झौता अनुसार सम्झौता अनुसार भारत सरकारले बर्षेनी कटान रोक्ने प्रयास गरेपनि पुर्णरुपमा सफल हुन नसक्दा नेपाली भूभाग बर्षेनी कटान र डुवानमा पर्दै आएको छ ।
कोशी नदि नियन्त्रण गर्न भारतले व्यारेज बनाएपछि नदीले बगाएर ल्याउने बालुवाको सतह उठेसंगै पानीको सतहपनि उकासिदा र बहाव परिवर्तन हुदा नेपालमा डुवान हुने गरेको स्थानीय कोशी पिडितहरुले बताउदै आएका छन् ।